close

विद्यालयमै वडा कार्यालय र स्वास्थ्य संस्था !

विद्यालयमै वडा कार्यालय र स्वास्थ्य संस्था !

Trulli
ADVERTISEMENT

सप्तरी– सामान्यतया विद्यालयमा विद्यार्थी पढाइन्छ । तर, सप्तरीको महादेवा गाउँपालिकामा रहेको एक विद्यालयमा भने वडा कार्यालय र सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिँदै आएको छ ।

 

वडा नम्बर ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालय दुर्गापुरको एक कोठामा १ वर्षदेखि वडा कार्यालय सञ्चालन भइरहेको हो । वडा कार्यालय भगवतपुर सुविधासम्पन्न रहे पनि भौतिक निर्माण भइरेहकाले २–३ किलोमिटर टाढाको भगवती राष्ट्रिय प्राविको भवनमा सञ्चालन गर्नुपरेको वडाध्यक्ष रमेशप्रसाद मण्डलले बताए ।


उनका अनुसार भगवतपुरस्थित वडा कार्यालयको भवन निर्माण गत वर्षदेखि भइरहेकाले सो विद्यालय भवनमा कार्यालय सञ्चालन गर्नु परेको हो ।
उनले वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि सोही ठाउँबाट सेवा प्रवाह हुने जानकारी दिए ।

 

वडा नम्बर ५ भगवतपुरका स्थानीय जागेन्द्र मण्डलका अनुसार वडाध्यक्ष रमेश मण्डलले आफ्नो कार्यकालसम्म आफ्नै गाउँ दुर्गापुरमा वडा कार्यालय सञ्चालन गर्ने सोचका कारण भगवतपुरमा वडा कार्यालयको भौतिक संरचना हुँदाहुँदै २–३ किलोमिटर टाढा दुर्गापुुरबाट गरिरहेका छन् ।

 

वडाध्यक्ष मण्डलले अन्यत्र ठाउँका नागरिकले मत नदिएको कारण देखाउदै विपक्षमा मत दिएकालाई वडाबाट प्रवाह हुने सेवा–सुविधाबाट वञ्चित गर्दै आएको स्थानीय हरेराम मण्डलको आरोप छ ।

 

वडा नम्बर ६ मा रहेको बजरंगबलि आधारभूत विद्यालयमा समेत सहरी स्वास्थ्य क्लिनिक १ वर्षदेखि सञ्चालनमा छ । वडा नम्बर ६ का वडाध्यक्ष उमेश यादवका अनुसार सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न भवन अभावका कारण विद्यालयबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्वीकारे ।

 

उनका अनुसार निकट भविष्यमै अर्को ठाउँमा क्लिनिक सञ्चालनका लागि भवन निर्माण भएपछि विद्यालयबाट सारिनेछ । महादेवा गाउँपालिका अध्यक्ष दीपककुमार यादवका अनुसार विद्यालय भवनमा राखेको वडा कार्यालय र सहरी स्वास्थ्य क्लिनिक जुन ठाउँका लागि हो, त्यही नै हुनुपर्नेमा जोड दिए ।

 

उनले विद्यालय भवनमा सञ्चालनमा रहेका ती कार्यालय सार्न पहल गर्ने बताए । पालिका उपाध्यक्ष ममताकुमारी यादवले विद्यालय भवनमा वडा कार्यालय र सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्नुपर्ने पक्षमा नरहेको बताइन् ।


शिक्षा समन्वय इकाइ समिति प्रमुख फणीन्द्र खत्रीले भने, ‘जनप्रतिनिधिले सहमतिमै विद्यालयमा कार्यालय संचालन गरेका भए पछि आफ्नै भवनबाट सञ्चालन गर्नुपर्छ ।’