close

राष्ट्रपति भण्डारी गौतम बुद्ध स्थल लुम्बिनीमा 

राष्ट्रपति भण्डारी गौतम बुद्ध स्थल लुम्बिनीमा 

Trulli
ADVERTISEMENT

रूपन्देही–राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएकाले नेपाल र नेपालीको गौरव भएको बताएकी छन् । आइतबार लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले नेपाली मौलिकता झल्किने वज्रयान विहारको उद्घाटन अवसरमा उक्त कुरा बताएकी हुन् ।


‘म एउटै कुरा भन्छु, गौतम बुद्धको जन्म नेपालमै भएको हो । गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन् ।


उनले विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएको उल्लेख गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’
 

कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताए । परम्परागत नेपाली वज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान वज्राचार्यले नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । उनका अनुसार महानगरको ४ करोड २९ लाख १८ हजार रुपैयाँ सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपालमण्डल द्वार निर्माण गरिएको हो ।


उनले नेपाली बौद्धकला, वास्तुकलालाई निरन्तरता दिने उद्देश्य रहेको बताए । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३७२ वर्ष भयो,’ उनले भने, ‘३७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौँ ।’ नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको र २० करोड रुपैयाँ लगानीमा सम्पन्न हुने योजना रहेको जानकारी दिए ।


कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति थियो ।