close

पालिकामा दिनभरः सरसफाइमा मौलापुरको ध्यान, फोहोर नउठ्दा जनकपुरका स्थानीय हैरान (भिडियो खबर)

पालिकामा दिनभरः सरसफाइमा मौलापुरको ध्यान, फोहोर नउठ्दा जनकपुरका स्थानीय हैरान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) डोटीको आदर्श गाउँपालिकाले विद्यालयका कर्मचारी र बालविकास सहजकर्ताको तलब वृद्धि गर्ने, पालिका र आन्दोलनरत शिक्षकको सहमतिपछि विद्यालयमा नियमित पठनपाठन । 

 

२) आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासीको सरावल गाउँपालिकामा थारू सङ्ग्रहालय स्थापना, सङ्ग्रहालयका लागि ७० लाख रूपैयाँको लागतमा भवन निर्माण ।

 

३) धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले फोहोर नउँठाउदा बजार दुर्गन्धित, वडाध्यक्षहरूले विरोध स्वरुप नगरप्रमुख लालकिशोर साहको घर अगाडी लगेर फोहोर थुपारे । 

 

४) लुम्बिनी क्षेत्रभित्र पर्ने रूपन्देही, कपिलवस्तु र नवलपरासीका ४ नगरपालिकाले स्पेनको काथेरेस नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गरे, लुम्बिनी सांस्कृतिक, देवदह, कपिलवस्तु र रामग्राम नगरपालिकाबीच सम्झौता । 

 

५) पाल्पाको निस्दी गाउँपालीकाले माग्यो २ जना सब इन्जिनियर र २ जना असिस्टेन्ट इन्जिनियर, १५ दिनभित्र दरखास्त दिन सूचना जारी । 

 

६) गोरखाको अजिरकोट गाउँपालिकाले १५ मंसिर भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयलाई दियो निर्देशन, समिति गठन भएको जानकारी तत्कालै पालिकामा पठाउनुपर्ने 

 

 ७) नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 

 

८) पाँचथरको फालेलुङ गाउँपालिकाले एक जना कार्यालय सहयोगी दैनिक ज्यालादारीमा नियुक्त गर्ने, २५ कार्तिकसम्म दरखास्त बुझाउन सूचना जारी । 

 

९) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाद्वारा विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयलाई प्रस्ताव पेस गर्न सूचना जारी, प्रस्तावको मूल्यांकन  गरेर विद्यालय छनोट गरिने । 

 

 १०) सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकलाई अनुदानमा उन्नत जातको गहुँको बिउ बितरण गर्ने, बिउ लिन कृषकले पालिकामा निवेदन दिनुपर्ने । 

 

११) काठमाडौं महानगरपालिकामा सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने, अब घरमै बसेर कर तिर्न सकिने । 

 

१२) सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा सिलामे स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पालिकावासीले पाए घर नजिकै स्वास्थ्य सेवा । 


 
१३) ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन थाल्यो, ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप लगाइने । 

 

१४) उदयपुरको चौदण्डीगढी नगरपालिकाद्वारा स्थानीय गैरसरकारी र सामुदायिक संस्थाबाट झोलुङ्गे पुल निर्माणका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना जारी, इच्छुक संस्थाले पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१५) अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर ऐबुल राइनविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर, सेवाग्राहीसँग घुस लिएको खुलासा ।

 
 
१६) काठमाडौं महानगरपालिकाको करिब ४ करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन उद्घाटन । 

 

१७) शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा पनि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेन, शिक्षक तलबबाट वञ्चित  । 

 

१८) मोरङको विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा वडा नम्बर ९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा ५ अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने, गुद्रीबजार क्षेत्रका घर टहरा हटाउन पालिकाको ताकेता । 

 

१९) तिहार तथा छठ नजिकिएपछि रौतहटको मौलापुर नगरपालिकाले सरसफाइ अभियान सुरु गर्‍यो, अभियानमा पालिका र स्थानीयको सहभागिता । 

 

२०) गाउँ सेवा परिवार स्याङ्जाद्वारा कालीगण्डकी गाउँपालिकालाई औषधि तथा स्वास्थ्य सामग्री प्रदान ।