close

दिवंगत गुरुको स्मृतिमा प्रतिष्ठान घोषणा

दिवंगत गुरुको स्मृतिमा प्रतिष्ठान घोषणा

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपाका स्व. शिक्षक शुभशेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ । गत ५ भदौमा निधन भएका राईको स्मृतिमा स्व. शुभशेर राई स्मृति प्रतिष्ठान स्थापना गरिने भएको हो ।


स्व. राईको ९०औँ दिनको पुण्य तिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको हो ।


केही समयपछि स्व. शुभशेर राई स्मृति प्रतिष्ठान स्थापना गरी सोहीमार्फत अक्षय कोष खडा बनाएर वार्षिक रूपमा जिल्लाका एक उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने गरी पुरस्कार स्थापनाको तयारी गरिएको संगठनको खोटाङ सचिव मीनकुमार दाहालले बताए ।


श्रद्धाजलीसभामा स्व. राईका जेठा छोरा एवं एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राईले शुभशेर राई स्मृति प्रतिष्ठानमार्फत सञ्चालन हुने अक्षय कोष स्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ दिने घोषणा गरेका छन् । 


अक्षय कोष स्थापनाका लागि एमाले सचिव कुमार आचार्य र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नूरकाजी सैंजुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।


अक्षय कोषका लागि संगठनले कम्तीमा ५० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरिसकेको छ । अक्षय कोषको ब्याजबाट हरेक वर्ष स्व. राईको पुण्यतिथिका दिन जिल्लाका एक उत्कृष्ट शिक्षकलाई कम्तीमा ६० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने संगठनका सचिव दाहालले जानकारी दिए ।


स्व. राईले सहयोगी प्रावि बुइपा छिप्ती, वीणा मावि लिकुवापोखरी र चम्पावती मावि बुइपामा ४१ वर्ष ७ महिना शिक्षण पेसामा बिताएका थिए । उनलाई जिल्लामै सबैभन्दा लामो अवधिसम्म शिक्षण गर्ने शिक्षकका रूपमा चिनिन्छ ।


स्व. राईले संगठनको तीन कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल कार्यवाहक अध्यक्षको जिम्मेवारी वहन गरेका थिए । संगठनका अध्यक्ष मनकाजी राईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले खोटाङ अध्यक्ष राप्रसाद दंगाल, विभिन्न दलका नेता, शिक्षक संगठनका प्रतिनिधिलगायतले स्व. राईको शैक्षिक योगदानका विषयमा चर्चा गरे ।