close

सप्तरीको राजविराज हटिया ठेक्कामा बेथिति

सप्तरीको राजविराज हटिया ठेक्कामा बेथिति

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको राजविराज नगरपालिकाको हटिया ठेक्कामा बेथिति भएको पाइएको छ । नगरपालिकाले हटिया ठेक्का लगाउँदा वैधानिक प्रक्रियासमेत पालना नगरेको पाइएको हो ।


नगरपालिकाको लापरबाहीले करोडौँ आम्दानी गुम्ने अवस्थामा पुगेको छ । ठेक्का लगाउँदा राखिएको जग्गा धरौटी र त्यसको मूल्यांकन तथा बैंक ग्यारेन्टी नहुँदा ठेकेदारसँग रहेको लाखौँ बेरुजु असुल्न नगरपालिकालाई समस्या भएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले बताए ।


उनका अनुसार आर्थिक वर्ष ०७५÷७६ देखि हटिया ठेक्का व्यवस्थित हुन सकेको छैन । नगरपालिकाले पटक–पटक ठेक्का लगाउन प्रयास गर्दासमेत असफल भएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।


हटिया ठेक्का लगाउन नसकेपछि नगरपालिकाले १९ असोजमा अमानतमा राजस्व संकलन गर्ने निर्णय गरेको थियो । नगरका कर्मचारी रामकुमार यादवले हटियामा राजस्व संकलन गर्दै आए पनि रकम दाखिला भने गरेका छैनन् ।


१९ असोज ०७८ देखि राजस्व संकलनको जिम्मा पाएका उनले चार दिनपछि २२ असोजमा रसिद नम्बर ११८५ बाट ५३ हजार ७ सय ३५ रुपैयाँ मात्र जम्मा गरेका छन् । यादवले साढे ४ लाख बढी बाँकी रकम हालसम्म जम्मा नगरेको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।


हटियामा संकलित राजस्व नगरको आम्दानीमा नबाँधी व्यक्तिले अपचलन गर्दासमेत नियमनकारी निकायले ध्यान दिएको छैन । नगरपालिकाले अमानतमा हटियाको बट्टी संकलन गर्न कर्मचारी खटाए पनि साविककै व्यक्तिले रकम असुल्दै आएका कारण मिलोमतोमै लाखौँ रकम बाँडफाँट गरेको हुन सक्ने आशंका स्थानीयको छ ।

 

०७५/७६ मा शिवराम यादवले ५९ लाख ४५ हजार रुपैयाँमा हटिया ठेक्का लिएका थिए । यादवले ठेक्काबापतको ३४ लाख ५८ हजार ९ सय ९५ रुपैयाँ हालसम्म नगरपालिकामा बुझाएका छैनन् । उनले तत्कालीन नकटी रायपुर वडा नम्बर ८ कित्ता नम्बर ११८ को ६ कठ्ठा १० धुर र कित्ता नम्बर २३३ को ४ कठ्ठा साढे ३ धुर जग्गा धरौटी राखेका छन् ।

 

उक्त जग्गाबाट पनि यादवमाथि रहेको बेरुजु असुल नहुने नगरपालिकाका कर्मचारी बताउँछन् । अर्का ठेकेदार करमलाल यादवले ७५ लाख १ हजार १ सय ११ रुपैयाँमा हटिया ठेक्का लिए पनि उनले ५७ लाख ७६ हजार १ सय ११ रुपैयाँ हालसम्म नगरपालिकामा बुझाएका छैनन् । 

 

उनले लहान नगरपालिका गोठ वडा नम्बर ३ को कित्ता नम्बर ७३९ को १ कठ्ठा १ धुर जग्गा धरौटीमा राखेका छन् । यादवले राखेको धरौटीबाट समेत बेरुजु असुल नहुने देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।


राजविराज नगरपालिकाले हटिया ठेक्कामा गरेको लापरबाहीका कारण नगरप्रमुख शम्भुप्रसाद यादवकै आसेपासेबाट करोडौँ बेरुजु असुल गर्न कठिनाइ भएको एक कर्मचारी बताउँछन् ।