close

राष्ट्रिय जनगणना : पाँचथरको बारमुरे गाउँमै पुगेनन् सुपरिवेक्षक र गणक !

राष्ट्रिय जनगणना : पाँचथरको बारमुरे गाउँमै पुगेनन् सुपरिवेक्षक र गणक !

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ६ को एउटा टोलमा राष्ट्रिय जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक नै नपुगेको पाइएको छ । विवरण संकलनका लागि खटाइएका गणक २५ कात्तिकदेखि ९ मंसिरसम्म घर–घर पुगेर विवरण संकलन गर्ने भनिए पनि वडा नम्बर ६ को बारमुरे गाउँमा नपुगेको स्थानीय मनकुमार तुम्रोकले बताए । ‘१० वर्षपछि भएको जनगणनामा सूचीकृत हुने चाहना थियो,’ उनले भने, ‘तर, टोलमा सुपरिवेक्षक र गणक नै आएनन् । हामी अलमलमा परेका छौँ ।’

 

९ मंसिरसम्ममा खटाइएका गणक आउने भनिए पनि सुपरिवेक्षक र गणक नआएको सोही टोलका हर्कप्रसाद तुम्रोकले बताए । उक्त टोलमा १० घरपरिवारको बसोबास छ । यसबारे बुझ्न खोज्दा पहिले टोलको सूचीकरण गर्न छुटेकाले त्यस्तो भएको जिल्ला जनगणना कार्यालयका प्रमुख मनोज भट्टराईले जानकारी दिए ।

 

उक्त टोलका नागरिकलाई जनगणनामा नछुटाइने प्रमुख भट्टराईले बताए । राष्ट्रिय जनगणनाजस्तो महत्त्वपूर्ण विषयमा सिंगो टोल नै छुट्नु सम्बन्धित निकायको लापरबाही भएको वडा नम्बर ६ का गणेश तुम्रोकको भनाइ छ ।