close

ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा स्टाफ नर्स भर्ना गराउन भक्तपुरको माग

ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा स्टाफ नर्स भर्ना गराउन भक्तपुरको माग

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा स्टाफ नर्स विषयको भर्ना आवेदन अनुमति दिन माग गरेको छ ।


संघीय सांसद प्रेम सुवालको नेतृत्वमा नगरपालिका प्रतिनिधिले शिक्षामन्त्रीलाई भेटी यस्तो माग गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट ८ मंसिरमा प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्नेसम्बन्धी सूचनामा पालिकाद्वारा सञ्चालित सो संस्थानको नाम छुट भएको थियो । सोही विषयमा सांसद सुवालले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराए । 

 

सांसद सुवालले भक्तपुर नगरले सर्वसाधारणको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई दृष्टिगत गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच  पुर्‍याउने उद्देश्यका साथ २०३० देखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकामा १७ वैशाख २०७८ देखि ख्वप अस्पताल सञ्चालन गरिरहेको जानकारी दिए ।

 

स्थानीय तहले सञ्चालन गरेका कलेजलाई निजी कलेजको आँखाले हेर्न नहुने बताउँदै नागरिकका छोराछोरीलाई प्राविधिक शिक्षा अध्ययन गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित नगरी ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरी अविलम्ब अर्को सूचना प्रकाशित गर्न शिक्षामन्त्री पौडेललाई उनले आग्रह गरे । 


उनले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि माग गरे । शिक्षामन्त्री पौडेलले चिकित्सा शिक्षा ऐनमा आफ्नै १०० बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकाले मन्त्रालयले यस्तो निर्णय गरेको बताए । 


    
सोही क्रममा नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसूतिगृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गराइँदै आएको बताए ।
    
ख्वप अस्पतालमा १४ जना विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, २० मेडिकल अफिसर, २९ स्टाफ नर्सलगायत १२५ जना स्वास्थ्यकर्मी र कर्मचारीमार्फत दैनिक करिब ६०० बिरामीलाई सेवा दिँदै आएको छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ८ मंसिर ४५ वटा शिक्षण संस्थाको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो ।