close

गाउँसभा भएपछि छिन्नमस्ता पालिकाका कर्मचारीको आन्दोलन स्थगित 

गाउँसभा भएपछि छिन्नमस्ता पालिकाका कर्मचारीको आन्दोलन स्थगित 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्तमा गाउँपालिकाअन्तर्गतका शिक्षक, कर्मचारीको आन्दोलन स्थगित भएको छ । गाउँपालिकाको कामकाज ठप्प पारी धर्नामा बसेका शिक्षक, कर्मचारीको माग सम्बोधनका लागि गाउँपालिका तयार भएकाले ४५ दिनपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।


६ महिनादेखि तलब खान नपाएका शिक्षक, कार्यालय कर्मचारी गत २८ कात्तिकदेखि चरणबद्ध रिले अनशनसहितका आन्दोलनमा उत्रिएका थिए । महिनौँको आन्दोलनबाट समेत सुनुवाइ नभएपछि गाउँपालिकाअन्तर्गतका १९ सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, ४ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसमेत कामकाज ठप्प पारी १ मंसिरदेखि गाउँपालिका कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा बसेका थिए । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलको अध्यक्षमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकबाट आन्दोलनकारीले उठाएका माग सम्बोधन गर्ने निर्णयपछि आन्दोलन स्थगित भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्माले बताए ।


पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयलाई तत्कालै पाठ्यपुस्तक उपलब्ध गराउने, स्वास्थ्य चौकीमा अति आवश्यक औषधी व्यवस्था गर्ने, गाउँपालिकामा आवश्यक सामग्री उपलब्ध गराउने, एक महिनाभित्र शिक्षक, कर्मचारीले उठाएका सम्पूर्ण माग सम्बोधन गर्ने निर्णय भएपछि धर्नालगायत आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिका संयोजक श्यामनारायण दासले जानकारी दिए । छिन्नमस्तामा आर्थिक वर्ष ०७७/७८ को गाउँसभा नभएका कारण आर्थिक कारोबार गर्न नसकिएपछि शिक्षक तथा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको छ ।


सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्कालै पाठ्यपुस्तकसहित व्यवस्था हुनुपर्ने, सबै विद्यालय, शाखा, उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत गाउँपालिका कार्यालयलाई चाहिने अति आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने, आर्थिक कारोबारको अधिकारसहित कार्यालय प्रमुखको व्यवस्था हुनुपर्ने, रोकिएको तलव तुरुन्त निकासा हुनुपर्नेलगायत ६ सूत्रीय माग राखेर कर्मचारी, शिक्षक १ मंसिरदेखि कामकाज ठप्प पारी धर्ना बसेपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएका थिए ।


कर्मचारीले आन्दोलन स्थगित गरेपछि आइतबारदेखि पूर्ववत गाउँपालिकाको कामकाज सञ्चालनमा आउनेछ । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ को गाउँसभा बिहीबार राती सम्पन्न भएको थियो ।