close

लुम्बिनीबाट जनमत पार्टीको जनमत माटी यात्रा

लुम्बिनीबाट जनमत पार्टीको जनमत माटी यात्रा

Trulli
ADVERTISEMENT

रूपन्देही– जनमत पार्टीले ‘जनमत माटी यात्रा’ रूपन्देहीको लुम्बिनीबाट सुरु गरेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरी शान्तिको मुहान लुम्बिनीबाट शनिबारदेखि ‘जनमत माटी यात्रा’ सुरु गरेको हो ।


मेचीदेखि महाकालीसम्म लुम्बिनीको लोकप्रियता बढाउन उक्त यात्रा यहाँबाट सुरु गरिएको राउतले बताए । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवसहित रूपन्देही जिल्ला समितिले लुम्बिनीको माटो राउतलाई हस्तान्तरण गर्दै यात्रा अभियान सुरु गरेको हो ।


मेचीदेखि महाकालीसम्म रहेका करिब प्रत्येक स्थानीय तहमा पुग्ने लक्ष्यसहित जनमत माटी यात्रा सुरु गरिएको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. राउतले लुुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।


राउतले अभियानको मुख्य उद्देश्य भनेको हरेक स्थानीय तहका गाउँघरसम्म पुगेर जनतमसँग प्रत्यक्ष जोडिएर त्यहाको माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउन प्रयोग गरिने रहेको बताए ।


उनले उद्यानमा माटो संकलन गरिएको स्थानीय तहको विशेष परिचय खुल्ने जानकारीसहितको एकता उद्यान बनाउने लक्ष्य राखी लुम्बिनीबाट अभियान सुरु गरिएको उनको भनाइ छ ।


उद्यान बनाउने लक्ष्य राखिए पनि कहाँ बनाउने भन्ने विषयमा अहिले नै टुंगो लागेको छैन । यो यात्रा लगातार नभई चरणबद्ध रूपमा गरिने एवं हाललाई कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी गरी ३ जिल्लामा मात्र गरिने बताए । 


पछि यसको लोकप्रियता र जनाधार हेरी अन्य जिल्लामा पनि विस्तार गरिने राउतले जानकारी दिए । अहिले पनि नेपाली जाति, भूगोललगायतको नाममा विभाजित रहेकाले त्यसलाई मेटाएर यो अभियानले एकता सन्देश दिन खोजेको राउतको दाबी छ ।


राउतले संघीयतापछि देशै टुक्रिनेलगायतका गलत प्रचार गरिएकाले यो अभियान सबै प्रदेशलाई जोडेर राजनीतिक सन्देश बोकेको जिकिर गरे । जनमतको माटी यात्रा अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खाँन, सचिव भोपेन्द्र यादवलगायत सहभागी थिए ।