close

कालिका मानवज्ञानमा सडक बालबालिकालाई निःशुल्क छात्रावास

कालिका मानवज्ञानमा सडक बालबालिकालाई निःशुल्क छात्रावास

Trulli
ADVERTISEMENT

रूपन्देही–अनाथ र सडक बालबालिकालाई शिक्षामा पहुँच दिने उद्देश्यले बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले निःशुल्क छात्रावास सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा ल्याइएको छात्रावासमा ७ जना असहाय विद्यार्थी भर्ना भएका छन् ।


भर्ना भएका विद्यार्थीमा अनुजा श्रेष्ठ, अनिल बोहरा, मनकुमारी रोकाया डोल्पा, सीमा पुन मगर, विशाल पुन मगर, हुकुमप्रसाद डाँगी रोल्पा र सुजीत बन्दीपुरे रोल्पा रहेको विद्यालयका प्राचार्य दिनेश थापाले बताए । यी बालबालिका द्वन्द्वपीडित र असहाय भएको वार्डेन तथा शिक्षक रामबहादुर जिसीको भनाइ छ ।


कक्षा ९ मा भर्ना भएका हुकुमप्रसाद डाँगीले शिक्षाको अवसरबाट वञ्चित भएकामा निःशुल्क खाने, बस्ने सम्पूर्ण सुविधासहित पढ्ने अवसर पाउँदा खुसी लागेको बताए । त्यस्तै, कक्षा ४ मा भर्ना भएकी मनकुमारी रोकायाले निःशुल्क छात्रावासको अवसरले अध्ययन अगाडि बढाउन सहयोग पुग्ने बताइन् ।


५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त छात्रावासमा ३२ वटा कोठा छन् । छात्रावास निर्माणका लागि नमुना विद्यालयअन्तर्गत २ करोड बजेट बिनियोजन भएको थियो भने अन्य खर्च आन्तरिक स्रोतबाट पूर्ति गरिएको प्राचार्य थापाले जानकारी दिए । ‘छात्रावासको कुल क्षमता २ सय जनाको छ । अन्य विद्यार्थी भर्ना लिने कार्यक्रम छ । दाताको खोजी गरेर खर्चको प्रबन्ध मिलाउँदै छौँ’, उनले भने ।


एउटै छानामुनि सडक बालबालिकाका लागि पनि व्यवस्था गरेर कालिका मानवज्ञान माविले नमुना र प्रशंसनीय काम गरेको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले छात्रावास सञ्चालनका लागि बजेट व्यवस्था गरिदिन प्रदेश र स्थानीय सरकारसँग प्रस्ताव पेस गरिएको जानकारी दिए । ‘बजेटको कमी भए पनि व्यवस्था मिलाउन प्रयत्नशील छौँ’, गलामीले भने ।


समितिका सल्लाहकार महेन्द्र थापाले यो नमुना काम भएकाले दातासँग सहयोग मागिएको सुनाए । विद्यालयका पूर्वप्राचार्य घनश्याम पाठकले कालिका मानवज्ञान माविले असहाय र सडक बालबालिकाका लागि खाने, बस्ने र पढ्ने सुविधासहितको निःशुल्क छात्रावास सञ्चालनमा ल्याएकामा खुसी लागेको बताए । नेपालभरकै यो विद्यालयमा हाल ८ हजार ३ सय २६ विद्यार्थी अध्यनरत छन् ।