close

घोराही १४ नम्बर वडाको सार्वजनिक सुनुवाइ

घोराही १४ नम्बर वडाको सार्वजनिक सुनुवाइ

Trulli
ADVERTISEMENT

दाङ–घोराही उपमहानगर वडा नम्बर १४ ले चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले सोमबार वडा कार्यालयमा पहिलो चौमासिकमा गरेका कामको प्रगति एवं चालू आर्थिक वर्षका योजना, नीति कार्यक्रम र वडाबासीको सुझाव लिन सार्वजनिक सुनुवाइ गरेको हो ।


सेवाग्राही र सेवाप्रदायक संस्थाबीचको सम्बन्ध बलियो बनाउन र भएका कामबारे वडाबासीलाई सुसूचित गराउने उद्देश्यले आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा चालू आर्थिक वर्षका लागि ७१ वटा वडा स्तरीय कार्यक्रममध्ये २४ वटा स्वीकृत भइसकेको, ३ वटा कार्य सम्पन्न भएको र २१ वटा प्रक्रिया वा अधुरो रहेको वडा सचिव तुलसीराम डिसीले जानकारी दिए ।


उनका अनुसार नगरी स्तरीय १४ वटा योजना परेकामा केही प्रक्रियामा गइसकेका छन् । यसैगरी वडा कार्यालयले ६४ जन्मदर्ता, २८ विवाह दर्ता, २३ मृत्यु दर्ता, ५७ वटा बसाइँसराइ, सम्बन्ध विच्छेदका ४, बसाइँसराइ गरी आउने ४३ घटना दर्ता भएको जनाएको छ ।

 

यो आर्थिक वर्षका लागि तय भएका कार्यक्रम तथा बजेटको प्रगति र वडाबासीका गुनासा एवं सुझावका विषयमा नगरपालिकाका विभिन्न शाखा तथा महाशाखा प्रमुखले तत्कालै समाधानसहितको जवाफ दिए । सो अवसरमा वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिले सडक कालोपत्रे दिगो बन्नुपर्ने, नालामा ढक्कन हुनुपर्ने, पार्किङसहित ट्राफिक व्यवस्थापन उचित हुनुपर्ने, सार्वजनिक जग्गाको उचित संरक्षण हुनुपर्ने, केबुल र विद्युतीय तारलाई व्यवस्थित बनाउनुपर्ने, लागूऔषध नियन्त्रणमा प्रहरी र वडा कार्यालयको विशेष पहल हुनुपर्नेलगायत सुझाव दिए ।


वडाध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाबासीले छनोट गरेका योजना पूरा गर्न वडा कार्यालय, सिंगो नगरपालिका तथा शाखा महाशाखा प्रयत्नशील रहेको बताए । उनले स्थानीय तहलाई सुशासनयुक्त बनाउन नगरबासी, टोलबासीको सुझावले भूमिका खेल्ने हुँदा निरन्तर खबरदारी गर्न आग्रह गरे ।


कार्यक्रममा वडाध्यक्ष डाँगीले वडाबासी स्थानीय सरकारको साझा नागरिक भएकाले कोही कसैलाई काखा र पाखा नगरिएको बताए । वडावासीको हित हुने काममा दिनरात खटिँदा कहिलेकाहीँ अपेक्षित नतिजा नागरिकले पाउन विलम्ब हुने भए पनि त्यसलाई अन्यथा लिन नहुनेमा जोड दिए ।

 

कार्यक्रममा उपमहानगरका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी, वडा प्रहरी कार्यालयका प्रमुख हृदयेश सापकोटा, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीलगायतले सार्वजनिक सुनुवाइका क्रममा उठेका जिज्ञासाको जवाफ दिए ।