close

फौदी खोलामा मोटरेबल पुल शिलान्यास

फौदी खोलामा मोटरेबल पुल शिलान्यास

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ स्थित फौदी खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाबाट पहिलो चरणमा १५ लाख रुपैयाँ लागतमा पुल निर्माण थालिएको हो ।


पुलको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकद्वय ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्त रूपमा शिलान्यास गरे । वर्षायाममा सवारीसाधन उक्त खोला पार गर्न समस्या भएकाले मोटरेबल पुल निर्माण थालिएको नगरप्रमुख खाँणले बताए । 

 

‘गाउँलाई सहरसँग र सहरलाई गाउँसँग जोड्ने यस क्षेत्रको महत्त्वपूर्ण सडकको रूपमा यसलाई अगाडि सारेका छौँ’, नगर प्रमुख खाँणले भने, ‘पुल निर्माणसँगै गाउँमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बजार पुर्‍याउन र गाउँमा आवश्यक पर्ने सामग्री पुर्‍याउन सहज हुनेछ ।’

 

निर्वाचित भएर आएसँगै यहाँको मुख्य समस्याका रूपमा रहेको फौदी खोलामा पुल निर्माणका लागि पटक पटक मन्त्रालयमा प्रयास भए पनि योजना प्राप्त नभएकाले नगरपालिकामार्फत निर्माण थालिएको वडा नम्बर १२ का वडाध्यक्ष दानबहादुर गुरुङले बताए । ‘पुलको डिपिआर गरेर मन्त्रालयमा फाइल पठायौँ तर सुनुवाइ भएन’, वडाध्यक्ष गुरुङले भने, ‘सुनुवाइ नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौँ र शिलान्यास गरेर काम थालिसकेका छौँ ।’


पुल नहुँदा उक्त खोला वारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाइकल तथा स्कुटर बगाउँदा कयौँपल्ट स्थानीय घाइतेसमेत भए । खोलामा बाढी आएका बेला सवारीसाधन वारपार गर्न नसक्ने भएकाले धेरै समय वारिपारि नै रोकिनुपर्ने बाध्यता थियो । पुल निर्माणसँगै स्थानीयलाई सहज हुनेछ ।

 

वालिङ वडा नम्बर १३ को बायँटारीबजारदेखि वडा नम्बर १२ लाई सडक सञ्जालसँग जोड्ने गरी फौदी खोलामा आवजाउ सहज बनाउन पक्की पुल शिलान्यास गरिएको हो । पुल आगामी दुई महिनाभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भएको इञ्जिनियर ध्रुव रेग्मीले जानकारी दिए ।

 

नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाका लागि थप ५ लाख गरी कुल २० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुनेछ । पुलको लम्बाइ र चौडाइ ६/६ मिटर रहनेछ ।