close

११० प्रतिशत जनताको पहुँचमा इन्टरनेट

११० प्रतिशत जनताको पहुँचमा इन्टरनेट

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा ११० प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार भदौसम्ममा नेपालका ११० दशमलव ६८ प्रतिशत जनाताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । 

 

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कानुसार भदौ महिनासम्म तीन करोड ३४ लाख ५८ हजार ९०८ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत साउन महिनामा तीन करोड २१ लाख ९६ हजार १८७ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

 

उक्त तथ्याङ्कानुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । भदौसम्म मोबाइल इन्टरनेटको हिस्सा ८२ दशमलव ५५ प्रतिशत छ । एक करोड २६ लाख ४८ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड दुई लाख र एनसेलको २४ लाख ३५ हजार रहेको जनाइएको छ । फिक्स ब्रोडब्याण्डको हिस्सा २७ दशमलव ४४ प्रतिशत रहेको छ । यसमा एडिएसएलका छ लाख ६१ हजार र एफटिटीएच इन्टरनेट ७६ लाख ३१ हजार बढी रहेका छन् ।

 

बढ्दै फोरजीका प्रयोगकर्ता

 

पछिल्लो समय नेपालमा फोरजीका प्रयोगकर्ता बढ्दै गएका छन् । प्राधिकणले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत साउन महिनाको तुलनामा भदौ महिनामा ११ लाख ३६ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका हुन् । भदौ महिनासम्ममा नेपालमा फोरजीका प्रयोगकर्ता एक करोड २१ लाख ७० हजार बढी छन् । नेपालमा सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै प्रयोगकर्ता नेपाल टेलिकमका छन् । भदौ महिनासम्म टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । साउनमा टेलिकमसँग ५३ लाख ४० हजार ३५३ फोरजी ग्राहक थिए ।

 

यस्तै भदौ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ५७ लाख २५ हजार ७८० पुगेका छन् । गत साउनमा एनसेलको फोरजी प्रयोगकर्ता ५५ लाख ११ हजार ३८६ थिए । प्राधिकरणको तथ्याङ्कानुसार भदौमा टेलिकमका फोरजी ग्राहक सङ्ख्या एनसेलको भन्दा पाँच लाख ४२ हजार बढेको छ । नेपाल टेलिकम र एनसेलमा फोरजीका प्रयोगकर्ता थपिए पनि स्मार्ट टेलिकमका प्रयोगकर्ता घटेका छन् । गत साउनसम्म एक लाख ८२ हजार ६१५ प्रयोगकर्ता रहेकामा भदौ महिनामा घटेर एक लाख ७६ हजार ६८६ पुगेको छ ।