close

छिन्नमस्तामा गाउँसभा नहुँदा तलबभत्ताबाटै वञ्चित भए कर्मचारी

छिन्नमस्तामा गाउँसभा नहुँदा तलबभत्ताबाटै वञ्चित भए कर्मचारी

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हालसम्म गाउँसभा नहुँदा कर्मचारी र जनप्रतिनिधि ३ महिनादेखि तलबभत्ताबाट वञ्चित भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को गाउँसभा गर्न नसक्दा गाउँपालिका कार्यालयले हालसम्म तलबभत्ता खुवाउन नसकेको हो । 


केही कर्मचारीले २०७७/७८ मा भएको विकासे कामको कमिसनको भागबन्डा विवादको कारण हालसम्म गाउँसभा सम्पन्न हुन नसकेको आरोप लगाएका छन् । एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘विगत आर्थिक वर्षमै गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिबीच बजेट बाँडफाँट तथा कमिसन विवाद भएको थियो । त्यसकारण अहिलेसम्म गाउँसभा सम्पन्न हुन सकेको छैन । हामी ४ महिनाको तलबभत्ताबाट वञ्चित छौँ ।’


लेखा अधिकृत बालगोविन्द साहले गाउँसभा नभएका कारण कर्मचारीलाई तलब खान समस्या भएको बताए । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उपाध्यक्ष उषा मण्डल तथा केही वडाध्यक्षसहितका जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा कुरा नमिल्दा तथा राजनीतिक खिचातानीका कारण हालसम्म गाउँसभा हुन नसकेको हो । 


कानुनी जटिलताका कारण तलब खान र खुवाउन नसकिएको उनको भनाइ छ । कमिसनको भागबन्डा विषयको विवाद सत्य नरहेको उनले दाबी गरे ।पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्माले राजनीतिक खिचातानी तथा बजेट बाँडफाँट नमिलेका कारण गाउँसभा नहुँदा तलब खुवाउन नसकिएको जानकारी दिए । कमिसनको विवाद विषयबारे जानकारी नभएको उनले बताए ।


पालिका अध्यक्ष मण्डलले गाउँपालिकामा अधिकृत अभाव र उपाध्यक्ष एवं वडाध्यक्षका कारण बजेट विनियोजन नहुँदा समयमै गाउँसभा नभएपछि तलब खुवाउन समस्या भएको दाबी गरे । ‘अहिले कर्मचारी, शिक्षक गाउँपालिका कार्यालय र मेरै घरमा आएर तलब मागिरहेका छन् । कहाँबाट तलब खुवाउनू ?’ अध्यक्ष मण्डलले भने, ‘अब प्रक्रियामा गएर चाँडै गाउँसभा सकेर तलब खुवाउने प्रयासमा छौँ ।’


कर्मचारी र जनप्रतिनिधिले गत साउनदेखिको तलब र दसैँ भत्ता बाँकी रहेको बताए । यसैबीच गाउँपालिकामा कार्यरत कर्मचारीले तिहारमा तलव पाउनुपर्ने माग गर्दै पालिका कार्यालयको कामकाज ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।