close

स्थानीय तहका जनप्रतिनिधिको रोजाइमा पर्दै तिलोत्तमा

स्थानीय तहका जनप्रतिनिधिको रोजाइमा पर्दै तिलोत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिका अन्य स्थानीय तहका लागि अध्ययन अवलोकन गर्ने पालिका भएको छ । नगरपालिकाले विकास निर्माणदेखि सरसफाइमा राम्रो काम गरेपछि तिलोत्तमा आउने अन्यत्रका स्थानीय जनप्रतिनिधिका कारण नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरीदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत र प्रवक्ता सुरेन्द्र श्रीलाई भ्याई–नभ्याई हुने गरेको छ ।


नगरपालिकामा धेरै ठाउँबाट पालिका प्रमुख, उपप्रमुख अध्यक्ष तथा उपाध्यक्ष तिलोत्तमामा भएको असल अभ्यास, विकास मोडललगायत विविध विषयमा जानकारी लिन आउने गरेका छन् । तिलोत्तमा नगर प्रवक्ता सुरेन्द्र श्री भन्छन्, ‘२०७१ मा नगरपालिका घोषणा भई २०७३ मा नगर कार्यपालिकाका रूपमा स्थापित भएर काम थालेको नगरपालिकामा अहिलेसम्म २० भन्दा बढी पालिकाका जनप्रतिनिधि, कर्मचारी अध्ययन अवलोकन भ्रमणमा आएका छन् ।’ 


अन्यत्रका स्थानीय निकायका प्रतिनिधिले नगरपालिकामा अध्ययन अवलोकन भ्रमण गर्नुको मुख्य कारण तिलोत्तमामा भएको असल अभ्यासको रूपमा शिक्षा, स्वास्थ्य, कृषि, सहरी सौन्दर्य, पूर्वाधार, सुशासन, सेवा प्रवाह, जनसहभागिता, राजस्व परिचालनलगायत रहेको उनको दाबी छ । बागमती प्रदेशका विभिन्न जिल्ला समन्वय समिति, महानगरपालिका, उप–महानगर, नगरपालिका, गाउँपालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष सम्मिलित अध्ययन भ्रमण टोलीले तिलोत्तमा नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको छ ।


भ्रमणका क्रममा यहाँ भएका असल अभ्यास, विकास मोडललगायत विविध विषयमा जानकारी लिएको छ । शनिबार बिहान भरतपुर महानगर उप–प्रमुख पार्वती शाह नेतृत्वको टोलीलाई तिलोत्तमा नगरप्रमुख घिमिरे, उप–प्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, प्रवक्ता श्रीले स्वागत गर्नुका साथै नगरमा भएको असल अभ्यासबारे जानकारी गराए ।


भरतपुर महानगर उप–प्रमुख शाहले नेपालमै उत्कृष्ट बनेको तिलोत्तमा नगरका पछिल्ला गतिविधि र समग्र नगरको असल अभ्यासको प्रशंसा गरे ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले तिलोत्तमाको समग्र असल अभ्यास र विकास निर्माण तथा प्रसासनिक सुशासनका विषयमा अवगत गराए ।


तिलोत्तमाका नगरप्रमुख घिमिरे भन्छन्, ‘हामीले नगरपालिकालाई सबै क्षेत्रमा नेपालकै नमुना बनाउने योजनासहित अगाडि बढेका छौँ । यसको मूल्यांकन अन्यत्रका स्थानीय जनप्रतिनिधिले गर्नुभएको छ । हामी काममा विश्वास गरेर अघि बढेका छौँ । सबै नगरबासी, कर्मचारीको साथ र सहयोगले यो अवस्थामा आएका हौँ ।’