close

हाम्रो पात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श 

हाम्रो पात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श 

Trulli
ADVERTISEMENT

काठमाडौं– हाम्रोपात्रो एपले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रूपमा ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो । 


यो सेवा सोमबारदेखि परीक्षणको रूपमा सुरु गरिएको हाम्रोपात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्काल एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध यो सेवा अबको २ महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् । 


स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ । 


ओपन प्लेटफर्मको रूपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वैच्छिक रूपमा जोडिन सक्नेछन् । परामर्श सेवाका लागि टिकट लिइसकेपछि बिरामीले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन् ।

 

अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । हाललाई टिकट शुल्क ५०० रुपैयाँ तोकिएको छ । डाक्टरसँग परामर्श सेवा लिनुपूर्व सेवाग्राहीले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । 
 

आफ्नो प्रोफाइलमा ल्याब रिपोर्टलगायत आफ्नो स्वास्थ्य समस्यासम्बन्धी कागजात अपलोड गर्न सकिनेछ । हाललाई हाम्रोहेल्थमा २० जना विशेषज्ञ डक्टर आवद्ध भइसकेको कम्पनीले जनाएको छ । 


यसमा डाक्टरको समय प्रि–बुकिङ गर्न सकिने सुविधा भने हाललाई उपलब्ध छैन । सम्बन्धित डाक्टरको प्रोफाइलमा गएर कुन समय अनलाइनमा उपलब्ध हुने अथवा नहुने कुराको जानकारी लिन सकिनेछ । 


‘काठमाडौं बाहिर रहेका बिरामीलाई सामान्य फलोअप तथा विशेषज्ञ डाक्टरसँगको परामर्शका लागि आइरहनुपर्ने बाध्यता अन्त्य गर्न यो सुविधा सञ्चालनमा ल्याएका हौँ,’ कम्पनीका संस्थापक उप्रेतीले भने ।