close

चौदण्डीगढीमा सुरु भो जग्गा नापजाँच 

चौदण्डीगढीमा सुरु भो जग्गा नापजाँच 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले जग्गा लगत संकलनपछि नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी क्षेत्रमा जग्गा लगत संकलनपछि नापजाँच थालिएको हो ।  नगरपालिकाले वडा नम्बर ८ सिद्धिपुरबाट जग्गा नापजाँच सुरु गरेको छ । जग्गा नापी कार्यमा प्रयोग गरिने मेसिन टोटल स्टेसन (टियस) को नगर प्रमुख खगेन्द्र राईले स्वीच अन गरी शुभारम्भ गरेका हुन् । 

 

वडामा भूमिहीन दलितको संख्या २५ घर, भूमिहीन सुकुम्वासी ५० घर र अव्यवस्थित बसोबासीको संख्या ६८५ घर भएको लगत संकलन इकाइ प्रमुख कुमार श्रेष्ठले बताए । ‘असारभित्र नापी कार्य सकिनुपर्ने थियो तर कोरोना महामारीका कारण रोकिएको काम पुनः सुरु गरेका हौँ’, प्रमुख श्रेष्ठले भने ।

 

लामो समयदेखि ऐलानी, पर्ती जग्गामा बसोबास गरिरहेका सर्वसाधारणलाई अब जग्गा मालिक बन्न भोगचलन गर्दै आएको जग्गाको स्वामित्व दिइने नगरप्रमुख राईले बताए । ‘यो जटिल काम भएकाले स्थानीय संघ–संस्थालगायत सचेत नागरिक र राजनीतिक दललाई हातेमालो र सहयोग गरिदिन आग्रह गरेका छौँ । साझा कार्यका लागि सबै एकजुट भए मात्र वडा, नगर र राष्ट्र समृद्ध हुन्छ’, नगरप्रमुख राईले भने ।

 

लगत संकलनका लागि नगरपालिकाले ३२ जना करार कर्मचारी नियुक्त गरिसकेको छ । वडाध्यक्ष गडुलमान विकले नापजाँच स्व. वडाध्यक्ष श्यामकुमार खपांगी मगरको टोलबाट सुरु गरिएको जानकारी दिए । जग्गा नापजाँचमा सबै पक्षको सहयोग हुने विश्वास उनले गरे । कार्यक्रममा वडा सदस्य वासुदेव राई, नगर सदस्य विमला राई, मनु कार्की, प्रमिला दनुवारलगायत उपस्थित थिए ।