close

रूपन्देहीमा खटिँदै १२२१ गणक

रूपन्देहीमा खटिँदै १२२१ गणक

Trulli
ADVERTISEMENT

रूपन्देही–‘मेरो गणना मेरो सहभागिता’ नारासहित आजदेखि राष्ट्रिय जनगणना सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणनाअन्तर्गत १२औँ राष्ट्रिय जनगणना बिहीबारबाट सुरु भएर ९ मंसिरमा सकिनेछ ।


रूपन्देहीमा पनि राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालय रूपन्देहीबाट गरी ११२१ जना गणक जनगणनाका निम्ति हरेक नागरिकका घरदैलोमा पुग्नेछन् ।


लुम्बिनी प्रदेश जनगणना कार्यालय रूपन्देही ‘क’ ले जिल्लाका ७ स्थानीय तहको गणनाका लागि ५२० जना गणक खटाएको जनजणना अधिकारी कृष्णराज पाण्डेले बताए । उनका अनुसार लुम्बिनी प्रदेश जनगणना कार्यालय रूपन्देहीले बुटवल उपमहानगर, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, शुद्धोधन गाउँपालिकाको गणना संकलन गर्नेछ ।


जनजणना अधिकारी कृष्णराज पाण्डेले गणकलाई ४ दिने तालिम दिई आ–आफ्नो कार्यस्थलमा खटाइएको जानकारी दिए । उनले भने, ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर आ–आफ्नो कार्यक्षेत्रमा पठाएका छौँ । उनीहरूले भोलिदेखि आफ्नो काम गर्नेछन् ।’

 

लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही ‘क’ ले जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरेको थियो । घर सूचीकरण गर्न १३० जना सुपरिवेक्षक खटिएका थिए ।


‘क’ कार्यालयअन्तर्गत बुटवल उपमहानगरमा २, सैनामैना, मायादेवी र शुद्धोधन पालिकामा १÷१ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले बताए ।
जिल्ला जनगणना कार्यालय रुपन्देही ‘ख’ ले जिल्लाका अन्य ९ स्थानीय तहको गणनाका लागि ६०१ जना गणक खटाएको जनजणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिए ।


जनगणना कार्यालय रुपन्देही ‘ख’ अन्तर्गतका गणकले सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, कोटहीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका गरी ९ स्थानीय तहमा गणना गर्नेछन् । उनका अनुसार सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह र सम्मरीमाई पालिकामा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । 


जनजणना अधिकारी शुक्लाले गणकलाई तालिम प्रदान गरी आवश्यक सामग्रीसहित आ–आफ्नो कार्यस्थल खटाइएको बताए । गणकले प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण संकलन गर्नेछन् ।

 

दोस्रो चरणको गणनाअन्तर्गत सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिनेछ । घरपालुवा पशुपक्षीको विवरण पनि संकलन गरिनेछ ।

 

जनगणनाका लागि सबै स्थानीय तहले बुधबार दोस्रो चरणको जनगणना सफल बनाउन पालिकाहरूले सबै नागरिकलाई आग्रह गरेका छन् । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बुधबारबाट सुरु हुने दोस्रो चरणको जनगणना सफल बनाउन सबैलाई आग्रह गरे । तिलोत्तमा, सैनामैना, रोहणीले पनि दोस्रो चरणको जनगणना सफल बनाउन नागरिकलाई अनुरोध गरेका छन् ।

 

भक्तपुर नगरभित्र ९७ गणक खटिँदै

 

बिहीबारदेखि सुरु हुने १२औँ राष्ट्रिय जनगणनाका लागि भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका गणकलाई तालिम दिएको छ ।  नगरभित्रका स्थानीयसँग सत्यतथ्य विवरण संकलन गर्न स्थानीय जनगणना कार्यालयले नगरभित्र खटिने गणकलाई ४ दिने तालिम दिएको हो । 


बिहीबारदेखि हुने जनगणनाका लागि भक्तपुर नगरमा ९७ जना गणक र २३ जना सुपरिवेक्षक खटाइनेछ । १२० जनाको टोलीले नगरभित्रका स्थानीयको जनगणना लिने जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिले बताए ।


जनगणनामार्फत देशको जनसांख्यिक विवरण मात्रै नभई सामाजिक, आर्थिक, धार्मिकलगायत विविध पक्षको विवरण संकलन हुने उनको भनाइ छ । नगरप्रमुख सुनील प्रजापतिले जनगणनाबाट स्थानीय क्षेत्रमा भौतिक तथा सामाजिक विकासका लागि आवश्यक योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जनगणनाका निम्ति आवश्यक सहयोगका लागि स्थानीय जनप्रतिनिधिसँग समन्वय र आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

 

भक्तपुर वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सत्यतथ्य, यथार्थ विवरण संकलन गर्नु सबै गणकको जिम्मेवारी रहेको बताए । भक्तपुर नगर क्षेत्रको क्षेत्रफल अरु स्थानीय तहको तुलनामा सानो रहे पनि बस्ती बाक्लो रहेको उनको भनाइ छ । भक्तपुरभित्रका गल्लीमा बाक्ला घर र घरभित्र पनि धेरै परिवार रहेकाले गणकलाई सबैको सही विवरण लिन आग्रह गरे । 


रूपन्देहीबाट चन्द्रकान्त खनाल, भक्तपुरबाट विपना मुसिख्वाल