close

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिटो सक्न अर्थमन्त्रीको ताकेता

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिटो सक्न अर्थमन्त्रीको ताकेता

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सक्न सम्बन्धित निकायलाई ताकेता गरेका छन् । यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने वचनसमेत उनले दिए ।


निर्माणाधीन विमानस्थलको शनिबार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, ‘काम छिटो सकेर उडान सञ्चालन गर्न सरकारका तर्फबाट के काम गर्नुपर्नेछ, त्यसमा कुनै ढिलाइ हुँदैन । निर्माणकर्ताले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्‍यो  ।’


सरकारले कुनै नीतिगत निर्णय गर्नुपर्ने भए, बजेट व्यवस्था गर्नुपर्ने भए जानकारी दिन उनले आग्रह गरे । त्यसको व्यवस्थापन सरकारले गर्ने ग्यारेन्टी लिनुपर्ने तर काम चाँडो सक्नुपर्छ उनको भनाइ छ । आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्न म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । 

 

विमानस्थल निर्माणको क्रममा विभिन्न समस्या पनि देखिएका छन् । ल्यान्डिङ एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाका कारण उक्त काममा ढिलाइ भइरहेको आयोजनाको गुनासो छ । त्यसका लागि बल्ल वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ । 


यस्तै, आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ किमि उत्तरमा रहेको ल्यान्डफिल साइट स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान सञ्चालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ । ‘आईकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले पाएको छ । 


करिब २ सय १६ मिलियन डलर लागत रहेको आयोजना निर्माणका लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबीच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय र ८ वटा आन्तरिक विमान पार्किङ गर्न सकिने बनाइएको छ ।

 

विमानस्थल निर्माणका लागि २०३२ मै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणका क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।