close

नतिजा देखिने गरी काम गर्न भूमि आयोगका पदाधिकारीलाई मन्त्री श्रेष्ठको निर्देशन

नतिजा देखिने गरी काम गर्न भूमि आयोगका पदाधिकारीलाई मन्त्री श्रेष्ठको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । 


राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिका आयोगले गरेका कामलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमै सम्पन्न गर्ने गरी योजनाबद्ध रूपमा लाग्न आग्रह गरिन् । 


मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा ढिलाइ गर्न नहुने हुँदा प्रभावकारी काम गर्ने गरी योजना र कार्यविधि बनाउन निर्देशनसमेत दिइन् । 


‘आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ । अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ । नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो । जुन कुरा संविधानमै छ, त्यो काम गर्न ढिला गर्नुहुँदैन । भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरूलाई अधिकारसम्पन्न गराउनुपर्छ’, मन्त्री श्रेष्ठले भनिन् । 


मन्त्री श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या पुनः रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारीलाई आग्रह गरिन् ।


राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्ने गरी अगाडि बढेको जानकारी दिए । कार्यक्रममा मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र आयोगका पदाधिकारीको उपस्थिति थियो ।