close

आवधिक योजना पूरा गर्दै बुटवल उपमहानगर 

आवधिक योजना पूरा गर्दै बुटवल उपमहानगर 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीका बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम कार्यक्रम, सीपमूलक तालिम र स्थानीय पाठ्यक्रमसहितको नगर शिक्षा योजना कार्यान्वयन भएको भन्दै सरोकारवालाले प्रशंसा गरेका छन् ।


बुटवल उपमहानगरले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम, हाम्रो बटौली स्थानीय पाठ्यक्रमलाई मुलुकमै नमुना मानिन्छ ।


यिनै कार्यक्रमको कार्यान्वयलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन सरोकारवालाले आग्रह गरेका छन् । उपमहानगरले हालै आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सहभागी बुटवलका राजनीतिक दल, निजी क्षेत्र, नागरिक अगुवा, सञ्चारकर्मी तथा सेवाग्राहीले जनप्रतिनिधि आएपछिको सेवा प्रवाहको प्रशंसा गरेका हुन् ।


बुटवलले आवधिक र दीर्घकालीन महत्त्वका नगर शिक्षा योजना, स्थान परिचयसहितको स्थानीय पाठ्यक्रम, मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

 

इलम कार्यक्रमअन्तर्गत सयौँ युवाले सीप सिक्ने, स्वरोजगार बन्ने र रोजगार पाएका छन् । समीक्षा कार्यक्रम सुरु गर्दै प्रमुख शिवराज सुवेदीले उपमहानगरका आवधिक योजना अधिकांश पूरा हुने चरणमा पुगेको, इलम कार्यक्रमको प्रभावकारिता बढेको र दीर्घकालीन महत्त्वका कयौँ योजना पनि साकार हुँदै गएको बताए ।

 

निजी क्षेत्र, राजनीतिक दल र नागरिक अगुवाका सुझावका आधारमा योजना कार्यान्वयनलाई प्रभावकारी बनाइने उनको भनाइ छ । सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुसी बुटवलबासीको लक्ष्य साकार पार्ने गरी बृहत् बुटवलको अवधारणाका साथ योजना तय गरिएको र तिनैको कार्यान्वयनमा केन्द्रित रहेको प्रमुख सुवेदीले जानकारी दिए । 


उपप्रमुख गुमादेवी आचार्यले लैंगिक हिंसामुक्त सहर, सहयोगापेक्षी सडक मानवमुक्त बुटवल, मानवताको सहर बुटवलको संकल्प साकार पार्ने गरी योजनाबद्ध काम गरिएको र ती कार्यक्रमको प्रभावकारी कार्यान्वयन भइरहेको दाबी गरिन् ।


समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले उपमहानगरको वार्षिक तथा चालू आवको प्रथम चौमासिक प्रगति विवरणलाई बँुदागत रूपमा प्रस्तुत गरे । सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्याल, वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनाल, आर्थिक विकास महाशाखा वातावरण तथा अनुगमन महाशाखा, सामान्य प्रशासन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले वार्षिक प्रगति विवरण प्रस्तुत गरे । 


उपमहानगरमा ७ वटा महाशाखा र २७ शाखा छन् । विषयगत आधारमा प्रगति विवरण प्रस्तुत गरिएको थियो । यो अवधिमा निर्माण भएका सडक पूर्वाधार, भवन निर्माण, पुलपुलेसा निर्माण, विद्यालय भवन निर्माण, जनस्वास्थ्यका कामलगायत कामको विवरण प्रस्तुत गरिएको थियो । 


तिनै विवरणका आधारमा राजनीतिक दलका तर्फबाट एमाले बुटवल उपमहानगर अध्यक्ष किसन ज्ञवाली, कांग्रेसका उपमहानगर समिति उपसभापति हितमान पुन, राष्ट्रिय जनमोर्चाका नेता पदम श्रेष्ठ, माओवादी केन्द्र बुटवल नगर कमिटी अध्यक्ष पुष्पराज ढकाल, जनता समाजवादी पार्टी बुटवल नगर समिति सचिव तेजबहादुर राना मगरले प्रगति समीक्षा विवरणका आधारमा सुझाव प्रस्तुत गरे । 


कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष उज्ज्वल कसजु, रूपन्देही उद्योग संघ अध्यक्ष माधवप्रसाद पौडेल, उद्योग व्यापार संघका विष्णु पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीलगायतले उपमहानगरको वार्षिक प्रगति विवरणका आधारमा सुझाव प्रस्तुत गरेका थिए । 

 

उपमहानगरका आवधिक र दीर्घकालीन महत्त्वका योजनाको कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने उनीहरूको प्रतिबद्धता थियो । कार्यक्रममा सहभागीले बुटवलको बीच भागबाट गएको राजमार्गको सडक खण्डको बेहालबारे उपमहानगरको अगुवाइमा सम्बन्धित निकायमा खबरदारी गर्न जरुरी रहेको सुझाए ।


बुटवललाई गिज्याउने, धुलाम्मे बनाउने गरी सडक विस्तारमा भइरहेको ढिलाइ र लापरबाहीमा संलग्नलाई कानुनी रूपमै जवाफदेही बनाउन उपमहानगरले पनि माथिल्ला निकायमा पहलकदमी गर्नुपर्ने सहभागीको सुझाव थियो ।