close

खडक नगरपालिकामा विद्यालय बन्दमा पनि खाजाको पैसा निकासा ! 

खडक नगरपालिकामा विद्यालय बन्दमा पनि खाजाको पैसा निकासा ! 

Trulli
ADVERTISEMENT

सप्तरी–कोरोना महामारी फैलिएसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले ११ चैत २०७६ देखि देशभर बन्दाबन्दी ग¥यो । बन्दाबन्दीका कारण विद्यालय पनि लामो समय खुल्न सकेनन् ।


तर, सप्तरीको खडक नगरपालिकाले विद्यालय बन्दका बेला पनि शंकास्पद किसिमले विद्यालय दिवा खाजाको पैसा निकासा गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले लक्षित विद्यार्थीको संख्या यकिन नै नगरी ४७ लाख २९ हजार २४३ रुपैयाँ निकासा गरेको महालेखाको प्रतिवेदनले औँल्याएको हो ।


‘चैतबाट नेपाल पूर्ण रूपमा बन्दाबन्दी भएको अवस्था तथा १८० दिन विद्यालय सञ्चालन नभएको अवस्थामा बढी दिनको खाजा खर्च निकासा भएको छ । बिल भर्पाइसमेत पेस नभएकोले कार्यालयबाट छानबिन गरी बढी गएको रकम असुल हुनुपर्छ’, महालेखाको ५८औँ प्रतिवेदनमा भनिएको छ ।


निर्देशिकाअनुसार दिवा खाजा बढीमा १८० दिन नबढ्ने गरी विद्यार्थी उपस्थित भएको दिनको मात्र दिनुपर्ने व्यवस्था छ । नगरपालिकाले सोहीअनुसार नै दिवा खाजाको रकम निकासा गरेको छ । 


तर, विद्यालयमा विद्यार्थी उपस्थित भएको प्रमाण भने पेस गरेको छैन । विद्यार्थी एकीकृत अभिलेख पेस नगरेकाले उपस्थित भएको दिनको मात्रै खाजा खर्च गएको छ भन्न सक्ने अवस्थासमेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले आफू केही समयअघि मात्रै हाजिर भएकाले यो विषयबारे जानकारी नरहेको बताए । ‘यी विषयमा थप बुझ्न नगरपालिका कार्यालय आउनुस्, हामी सबै सूचना दिन्छौँ,’ उनले भने ।