close

मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर स्वाहा

मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर स्वाहा

Trulli
ADVERTISEMENT

जुम्ला– मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । गए राती १ बजे स्थानीय ठिल्ले लामाको घरमा बल्दै गरेको दियालोबाट आगलागी सुरु भएको प्रारम्भिक सूचना आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

 

आगलागीमा परी १८ घर, ३ वटा घुम्ती पसल खरानी भएका छन् भने करोडौँको धनमाल, जिन्सी सामान जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीयको सहभागितामा आगलागी नियन्त्रणमा आएको छ ।


गए राती १ बजेदेखि सुरु भएको आगलागी बिहान ४ बजे नियन्त्रणमा आएको हो । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घर एकअर्कासँग जोडिनु र मुगुमा दमकल नहुँदा आगलगानी नियन्त्रणमा समय लागेकाले धेरै क्षति भएको अनुमान छ ।

 

आगलागीपीडितलाई राहतकोे घोषणा

कर्णाली प्रदेश सरकारले मुगुको गमगढी बजारका आगलागीपीडितलाई राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् ।

 

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको बताए । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले जानकारी दिए ।