close

लुम्बिनी प्रदेशभर विप्लवको बन्दले जनजीवन प्रभावित 

लुम्बिनी प्रदेशभर विप्लवको बन्दले जनजीवन प्रभावित 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका सबै जिल्लामा बिहानैदेखि देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

 

बन्दका कारण लुम्बिनी प्रदेशका रूपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा पसल फाट्टफुट्ट खुलेका छन् ।


कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् । बुटवलमा केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँ–ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।


बन्द सफल पार्न सोमबार साँझ लुम्बिनी प्रदेशका जिल्लामा नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्थाले बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै सोमबार नै पढाइ नहुने सूचना जारी गरेका छन ।


बन्दका कारण गन्तव्यमा जाने यात्रुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी कुरिरहेका छन् । तर, गाडी नपाएपछि उनीहरू अलपत्र छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए ।