close

इन्टरनेटको पहुँचमा पुगे देशभरका १५ हजार ३४९ सार्वजनिक कार्यालय

इन्टरनेटको पहुँचमा पुगे देशभरका १५ हजार ३४९ सार्वजनिक कार्यालय

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सार्वजनिक सरकारी कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको बताएको छ । प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँ लगानीमा देशभरका स्थानीय तहका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी उक्त परियोजना अगाडि बढाएको थियो ।


देशभर कुल १५ हजार ९८२ वटा तोकिएका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यमध्ये कात्तिकसम्म १५ हजार ३४९ निकायमा जडान भइसकेको प्राधिकरणले जनाएको छ । परियोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको हो ।


कुल १८ वटा प्याकेज बनाएर देशभर जडानको काम सुरु गरिएको यो परियोजनाअन्तर्गत कात्तिकसम्म ६७६ स्थानीय निकायको कार्यालयमा काम सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत ७०२ यस्ता कार्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता भएको थियो ।


अब २६ वटा स्थानीय कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी छ । त्यस्तै कुल ५ हजार ९३३ वडा कार्यालयमा सम्झौता भएकामा ५ हजार ३ वटा कार्यालयमा जडान भइसकेको छ । ४ हजार १२२ वटा स्वास्थ्य संस्थामा जडान गर्ने सम्झौता भएकामा ४ हजार १७ वटा संस्थामा काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

 

परियोजनाअन्तर्गतका १६ वटा प्याकेजमध्ये ६५ जिल्लामा तोकिएबमोजिमका स्थानमा शतप्रतिशत काम सम्पन्न भइसकेको छ । त्यस्तै, एउटा प्याकेजमार्फत पाँच जिल्लाका तोकिएबमोजिमका स्थानमा ५० प्रतिशत बढी काम सम्पन्न भइसकेको प्राधिकरणले बताएको छ ।


सम्पन्न भएकामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुई वटा परियोजनाको परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन र प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुई वटा परियोजनाको दोस्रो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।


ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर सेवाप्रदायकलाई प्रतिस्पर्धा गराएर उनीहरूमार्फत नै ब्रोडब्यान्ड जडानको काम भइरहेको छ । यसरी जडान गरिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउनेछन् ।