close

बाढी प्रभावितले गाउँपालिकालाई बुझाए ज्ञापनपत्र

बाढी प्रभावितले गाउँपालिकालाई बुझाए ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले हेलम्बु गाउँपालिकालाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । विपद् कोषमा जम्मा भएको रकम गाउँपालिकाले अनावश्यक योजनामा खर्च गरेकोलगायतका विषयवस्तु समेटेर सो ज्ञापनपत्र बुझाइएको हो । बाढीपछिको गाउँपालिका कार्यालयको कार्यशैली, एकै प्रकृतिका पीडितहरूमा पनि अस्वाभाविक व्यवहार, संरक्षण गर्न सकिने संरचनाप्रति बेवास्ता गरेको, अस्थायी बसोबास निर्माणबारे विभेद गरेको र पीडितहरूको वर्गीकरणमा गाउँपालिकाले असमान मापदण्ड बनाएको गुनासा स्थानीयवासीबाट आएपछि समितिका अध्यक्ष भरत थापालगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

 

बाढीको असर र प्रभावबारे अध्ययन विवरण, हेलम्बु गाउँपालिकाले प्राप्त गरेको राहत सामग्री विवरण, वितरण गरेको विवरण, विपद् व्यवस्थापन कोषमा जम्मा भएको कूल आर्थिक कोष तथा सहयोगदाताको विवरण र उक्त कोषको सम्पूर्ण शीर्षकसहितको खर्च विवरण समितिलाई बुझाउनसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

 

सरोकार समितिले स्थायी बसोबासका बारेमा बनाइएको भावी योजना विवरण, पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त सडक, पाटीपौवा, विद्यालय, खेलमैदान, गुम्बा, सिँचाइ तथा अन्य संरचना पुनःनिमाणसम्बन्धी निर्मित योजना विवरणलगायतका विषयमा गाउँपालिकाले समितिलाई सात दिनभित्र लिखित जवाफ उपलब्ध गराउनसमेत समितिले विज्ञप्तिमार्फत माग गरेको छ ।

 

बाढीपहिराबाट पीडित, प्रभावित एवं जोखिममा रहेका हेलम्बु गाउँपालिकाभित्रको नागरिकको आवाज मुखारित गर्न, समस्याको पहिचान गरी राज्यको तीन तहगत सरकार एवं सरोकारवाला निकायको ध्यानाकर्षण गराई अल्पकालीन एवं दीर्घकालीन योजनामार्फत विगतभन्दा अझै सुन्दर कल्पनासहित हेलम्बुको सौन्दर्यता फर्काउने उद्देश्यका साथ गत साउन १६ गते भरत थापाको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समिति गठन गरिएको थियो ।

 

सो अवसरमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीयवासीले गाउँपालिकाको कामका बारेमा चासो राख्नुले आफूलाई खुशी लागेको बताए । उनले यस्तै सल्लाह र सुझावले नै हेलम्बुलाई अगाडि बढाउन टेवा पुग्ने जनाउँदै सरोकार समितिले राखेको मागलाई एक हप्ताभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाए  ।