close

१२ वर्षपछि सञ्चालनमा आयो खुलालु पुल 

१२ वर्षपछि सञ्चालनमा आयो खुलालु पुल 

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली करिडोरअन्तर्गतको कर्णाली नदीको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ कालीकोटको खुलालुमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो ।

 

निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । ०६६ मा हाल कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए । 

दुई पटक शिलान्यास भएको पुल निर्माण ढिलाइका कारण लामो समयपछि सञ्चालनमा आएको हो । ठेक्का भएको ३ वर्षमै काम सम्पन्न गर्ने गरी ०६६ मा कन्काइ जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले ०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो ।

 

सुरुको पुल निर्माणका लागि १३ करोड लागतमा बनाइने भनिएको उक्त पुल निर्माणमा ढिलाइ हुँदा लागत बढेर १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । कर्णाली करिडोरमा पुल नहुँदा यात्रुले सास्ती खेप्दै आएका थिए ।

 

कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि हुम्ला, मुगु, बाजुरा र कालीकोटमा यातायातका साधन सहजै सञ्चालनमा आउने कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउनेछन्,’ उनले भने, ‘यहाँका नागरिकको दैनिकी सहज हुनेछ ।’