close

फिदिम नगर कपको खेलतालिका सार्वजनिक

फिदिम नगर कपको खेलतालिका सार्वजनिक

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा २८ मंसिरदेखि सुरु हुने तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । 


आयोजक स्वतन्त्र क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लबले अल इन वान सैनिक क्लब झापाको सामना गर्नेछ । प्रतियोगिता उद्घाटन खेल २८ मंसिर दिउँसो २ बजे स्थानीय बराजु रंगशालामा हुनेछ । 

 

प्रतियोगिताको दोस्रो दिन २९ मंसिरमा दुई खेल हुनेछन् । दिउँसो साढे १२ बजे सुरु हुने उक्त दिनको पहिलो खेलमा योङ ब्वाइज क्लब इलामविरुद्ध कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङ मैदान उत्रिनेछ ।  त्यस्तै, दिउँसो ३ बजे सुरु हुने खेलमा पशुपति ११ इलाम र चर्च ब्वाइज क्लब काठमाडौंले खेल्नेछन् । प्रतियोगिताअन्तर्गत १ पुसमा पनि दुई खेल हुनेछ । दिउँसो साढे १२ बजे हुने खेलमा पाँचथर क्लब पाँचथर र रेडस्टार क्लब झापाबीच स्पर्धा हुनेछ । 

 

सोही दिन दिउँसो ३ बजे पशुपति ११ इलाम र चर्च ब्वाइज क्लब काठमाडौंबीचको विजयीसँग पाहुना टोली छिमेकी भारतको पान्डा स्पोर्टिङ क्लब सिक्किमले खेल्नेछ ।  प्रतियोगिताको फाइनल खेल ३ पुसमा हुनेछ । प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ८० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।