close

आफ्नै  जनप्रतिनिधिलाई पुरस्कृत गर्दै महानगर

आफ्नै  जनप्रतिनिधिलाई पुरस्कृत गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौं महानगरले २७औँ महानगर दिवसमा स्थानीय सेवा गौरव पदकमा आफ्नै जनप्रतिनिधिलाई पुरस्कृत गर्ने भएको छ ।  महानगरले ५ जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय गौरव सेवाबाट पुरस्कृत गर्ने भएको हो । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

 

यसबाहेक महानगरले जनकमान श्रेष्ठ सुशासन पुरस्कार, सुशासन पत्रकारिता पुरस्कार, कर्मचारी सम्मान, करदाता सम्मान गर्न लागेको छ । तर, यो वर्षको महानगर दिवसमा भने अन्य पुरस्कारभन्दा जनप्रतिनिधि आफैंलाई पुरस्कृत गर्ने कुराले सबैको ध्यान खिचेको छ । 

 

जनप्रनिधिलाई नै किन पुरस्कृत गर्ने भन्ने पत्रकारको प्रश्नमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडाका जनप्रतिनिधिको धेरै सेवा–सुविधा नहुने भएका र तिनको कामको सम्मान गर्न लागिएको बताए ।  ‘सबै जनप्रतिनिधिको सेवा–सुविधा राम्रो हुँदैन,’ नगरप्रमुख शाक्यले भने, ‘उहाँहरूले खटेर काम गर्नुभएको छ । त्यसकै लागि पुरस्कार व्यवस्था गरिएको हो ।’

 

महानगर दिवस गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षको अवधिमा भए/गरेका कामको विवरण पनि सार्वजनिक गरे । महानगरप्रमुख शाक्यले अर्को कार्यकालका लागि दोहोरिने आकांक्षासहित कामको फेहरिस्त प्रस्तुत गरे । पार्टीले उचित ठाने फेरि पनि महानगरको निर्वाचनमा उठ्ने संकेत उनले दिए ।कार्यक्रममा उनले साढे चार वर्षको अवधिमा काठमाडौं महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताए । यस्तै, १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको उनको भनाइ छ ।

 

‘४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने । वडा नम्बर ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको र वडा नम्बर २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

 

वडा नम्बर ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी ८ वटा वडा कार्यालय भवनको स्तरोन्नति गरिएको नगरप्रमुख शाक्यको प्रगति विवरणमा उल्लेख छ । अहिलेसम्म २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी उनले दिए । ‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ उनले भने, ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरको केन्द्रीय कार्यालयसहित सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’


डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा सुरु गरिएको उनले बताए । वडा नम्बर २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरका सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको र वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको उनको भनाइ छ ।

 

कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर दिइएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय एवं नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ ।

 

महानगरप्रमुख शाक्यले विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न सहयोग, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डायलासिस मेसिन खरिदमा सहयोग, शहीद गंगालाल हृदय केन्द्रलाई अक्सिजन प्लान्ट खरिदमा सहयोग गरी प्लान्ट सञ्चालनमा आएको, रगतको तत्त्व छुट््याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका बिरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग गरिएको उनले बताए ।

 

यस्तै, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको महानगरप्रमुख शाक्यले जानकारी दिए । शाक्यले स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको बताए ।

 

वडा नम्बर ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नम्बर ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको शाक्यले जानकारी दिए ।

 

उनले भने, ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ । महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।’

 

पत्रकार सम्मेलनमा नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रको पुस्तक प्रकाशनमा ल्याइएको छ । ‘काठमाडौंका मौलिक एवं परम्परागत बाजागाजा संरक्षणका लागि विभिन्न गुठीलाई सहयोग गरिएको छ,’ उनले भने, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ ।’

 

आन्तरिक स्रोतबाटै महानगरका करिब १२ हजार वरिष्ठ ज्येष्ठ नागरिक वार्षिक १२ हजार भत्ता वितरण हुँदै आएको र पूर्ण अपांगता भएकालाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको शाक्यले बताए ।