close

भोक्राहा नरसिंह पालिका अध्यक्ष यादवले पाए सफाइ

भोक्राहा नरसिंह पालिका अध्यक्ष यादवले पाए सफाइ

Trulli
ADVERTISEMENT

सुनसरी–सुनसुरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले अदालतबाट सफाइ पाएका छन् । आइतबार जिल्ला अदालत सुनसरीले यादवलाई सफाइ दिएको हो ।

 

सफाइ पाएसँगै अध्यक्ष यादवले अदालतले न्याय दिलाएको बताए । अध्यक्ष यादवमाथि जबरजस्ती करणीको अभियोग लागेको थियो । उनलाई जबरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय धरानले गत ८ वैशाखमा अदालतमा मुद्दा दायर गरेको थियो । आइतबार जिल्ला अदालत सुनसरीले फैसला गरेको हो ।


जिल्ला अदालतका ६ नम्बर न्यायाधीश टीकेन्द्र दाहालको इजलासले यादवलाई सफाइ दिएको हो । आइतबार छैटौँ पटकको पेशीमा दाहालको इजलासबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवले सफाइ पाएका हुन् ।

 

सफाइ पाएसँगै यादवले पालिका अध्यक्षको पद पुनः सम्हाल्नेछन् । सुनसरी जिल्ला अदालतले ढिलै भए पनि न्याय दिएको भोक्राहा नरसिंह पालिकाका कानुनी सल्लाहकार पञ्चदेव मेहताको भनाइ छ ।

 


अदालतले २ जेठमा जबरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय धरानको दाबीबमोजिम यादवमाथि मुद्दा दर्ता गरेको थियो । अध्यक्ष यादवलाई प्रहरीले ८ वैशाखमा पक्राउ गरी बालिका बलात्कारको आरोप लगाएको थियो ।


सुनसरी जिल्ला अदालतका न्यायाधीश टीकेन्द्र दाहालको इजलासले ३ जेठ ०७८ मा मुद्दा किनारा नलागेसम्म यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । १२ असोज ०७८ मा बालिका बलात्कारको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने आदेश दिइएको थियो । २८ कात्तिक ०७८ मा बहस नोट पेस गर्न लगाउनेसहित ६ वटा पेशी तोकिएको थियो ।

 

अन्तिम फैसला गर्दै आइतबार यादवलाई सफाइ दिएको जिल्ला अदालत सुनसरीले जनाएको छ । अध्यक्ष रिहा भएसँगै उनका समर्थकले चोक–चोकमा खुसियाली साटासाट गरे ।