close

एमाले बैठकमा योमरीको स्वाद

एमाले बैठकमा योमरीको स्वाद

Trulli
ADVERTISEMENT

भक्तपुर– आइतबार दिउँसो १२ बजे मात्रै नेकपा एमालेको स्थायी कमिटी बैठक चल्दा भक्तपुरकी बेलमाया श्रेष्ठलाई बिहानैदेखि भ्याई–नभ्याई थियो । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बालकुमारीकी उनी बिहान ९ बजेदेखि नै बैठक स्थलमा पुगिसकेकी थिइन् । गठ्ठाघरको जर्मन होम्स हस्पिटालिटीमा एमाले बैठक सञ्चालन भएको थियो ।

 

बैठकमा सहभागीलाई योमरी खुवाउने जिम्मा उनको समूहमा आएकाले उनीसँगै १० जना महिला त्यहाँ पुगेका थिए । ‘हामी ९ बजेदेखि नै यहाँ आएर बसेका हौँ । सामग्री जुटाएर १० बजेदेखि योमरी पकाउन थाल्यौँ’, उनले भनिन्, ‘१५ सयभन्दा बढी योमरी बनाएर खुवायौँ ।’ 

 

उमेरले ६५ वर्ष टेकेकी उनी नेवारी समुदायको परिवारमा हुर्किएकाले योमरी सजिलै बनाउन सिकेको सुनाउँछिन् । ‘हामी १० जना दिदीबहिनीले एमाले केन्द्रीय कमिटी बैठकमलाई सहभागीलाई चखाउन योमरी बनायौँ । कोही बनाउँछौँ, कोही पकाउँछौँ अनि कोही ओसार्दै खुवाइयो । सोचेभन्दा बढी माग भयो,’ उनले भनिन् ।

 

बैैठकमा सहभागीलाई मध्यपुर थिमि नगरपालिकाले योमरी खुवाउने योजना बनाएसँगै त्यसको जिम्मा पालिकाको एकल एकता समूहका महिलालाई दिइएको थियो । सोहीअनुसार समूहका सदस्य योमरी बनाउन र ओसारपसार गर्न व्यस्त भए । 


बिहानैदेखि सबैले योमरी बनाउन थाले पनि साँझसम्म उत्तिकै माग आइरहेको थियो । बैठकका लागि चाकु र खुवा प्रयोेग गरी दुई थरीको योमरी बनाइयो । योमरी बनाएर आरामसमेत गर्न पाइएन । तर, मागअनुसार दिन भने नसकिएको उनीहरू बताउँछन् । भक्तपुरका लागि पुरानो खानेकुरा भए पनि बाहिरका लागि नयाँ स्वाद भएर सहभागीले मीठो मानीमानी खाएको उनीहरूले सुनाए ।’ 

 


एमाले दसौँ महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको गठ्ठाघरस्थित पार्टी प्लालेसमा भएको थियो । बैठकमा सहभागीलाई भक्तपुरको पहिचान योमरी खुवाइएको हो । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार आगामी ४ पुसमा योमरी पुन्ही आएको र त्यसबारे जानकारी दिन यो कार्यक्रम बनाइएको हो । यसले योमरीको मात्रै नभई नेवारी संस्कृतिबारे जानकारी दिन सहयोग पुगेको उनले बताए । एमाले बैठक स्थलमा भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको संस्कृति झल्किने सम्पदा चित्र कोरिएका थिए ।