close

दाङमा चार महिने अवधिमा १४ हजार बढी चालक कारबाहीमा

दाङमा चार महिने अवधिमा १४ हजार बढी चालक कारबाहीमा

Trulli
ADVERTISEMENT

दाङ– दाङमा ट्राफिक नियम विपरीत सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिने अवधिमा ट्राफिक नियम विपरीत सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका हुन् ।  सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाँधी सवारी चलाउने, सवारी चलाउँदा फोन प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने र साथमा सवारीसाधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए । 


चार महिनामा मापदण्ड विपरीत सवारी चलाउनेबाट ९२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । चालू वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९२ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लामा चालू वर्षको कात्तिकमा सबैभन्दा बढी सवारी चालक कारबाही परेका छन् । 


कात्तिकमा मात्रै ४ हजार २ सय सवारी चालक कारबाहीमा पर्दा २५ लाख ९८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । साउनमा ३ हजार १५० सवारी चालकबाट २० लाख २७ हजार, भदौमा ४ हजार ५० सवारी चालकबाट २५ लाख ६८ हजार र असोजमा ३ हजार ३ सय चालकबाट २० लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख जिसीले जानकारी दिए । 


चार महिने अवधिमा सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन् । यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ४७३ सवारी चालकबाट ३६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, ३ हजार ३१२ सवारी चालककबाट २१ लाख १३ हजार, १ हजार ७ सय ४० जिप, कार चालकबाट १० लाख ३३ हजार, १ हजार ५ सय २४ बस चालकबाट ८ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

 
त्यस्तै, १ हजार ३९२ टेम्पोबाट ८ लाख ११ हजार र १ हजार २ सय ५९ ट्रयाक्टरबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष यसै अवधिमा अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म १६ हजार सवारी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।