close

बुटवलमा कालिका रनिङ सिल्ड स्पर्धा सुरु

बुटवलमा कालिका रनिङ सिल्ड स्पर्धा सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवलमा प्रथम जिल्लास्तरीय कालिका रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । कालिका मानविज्ञान माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको खेल प्रतियोगिताको लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँले उद्घाटन गरे ।

 

मन्त्री खाँले विद्यालय स्तरबाट खेल प्रतियोगिता खेलाउन सके राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । उनले कालिका मानवज्ञान माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामीले विद्यालयमा पूर्वाधारको कमी भएकाले सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

 

विद्यालयका प्राचार्य दिनेश थापाले विद्यार्थीलाई खेलकुदका माध्यमबाट अनुशासित बनाउन खेल स्पर्धा आयोजना गरिएको जानकारी दिए । पूर्वाधार अभावले सबै विद्यार्थी भर्ना लिन नसकिएको उनको भनाइ छ ।


कार्यक्रममा बुटवल उपमहानगर वडा नम्बर १० का वडाध्यक्ष पदमबहादुर थापा, नगर खेलकुद विकास समिति अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष योग गुरुङ, लुम्बिनी खेलकुद परिषद्का सदस्य कृष्ण कुमाललगायतले शुभकामना व्यक्त गरे ।


विद्यालयको ६५औँ वार्षिकोत्सव अवसरमा १ देखि ७ पुससम्म हुने प्रतियोगितामा रुपन्देहीका ३० बढी विद्यालयबाट ५ सय बढी विद्यार्थी सहभागी भएको विद्यालयका खेलकुद शिक्षक हरि ओलीले बताए ।


प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।