close

मितेरी सम्बन्ध गाँस्दै दुई नगरपालिका 

मितेरी सम्बन्ध गाँस्दै दुई नगरपालिका 

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबीच भगिनी (मितेरी) सम्बन्ध विस्तारबारे छलफल भएको छ । महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका नगरप्रमुख पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो ।

 

दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गरिनेछ । दुवै नगरपालिकाको पहिलो पटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल थालेका हुन् । नगरप्रमुख श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एकअर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान–प्रदान गरिने बताए ।

 

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले भगिनी सम्बन्ध विस्तारपछि एकअर्का नगरको असल अभ्यास आदान–प्रदान, विकास र समृद्धिका लागि सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे । ‘नाम पनि मिलेकाले भगिनीसँगै मितिनी सम्बन्ध काम गर्दै अगाडि बढ्छौँ,’ उनले भने, ‘सुख र दुःखमा हाम्रो साथ रहिरहन्छ ।’

 

नगरप्रमुख नेपालले दुवै नगरपालिकाका नवीनतम कार्यलाई अनुशरण गर्ने, सिकाइ आदान–प्रदान गर्ने र नगरको विकासका लागि एकअर्कालाई परिपूरकका रूपमा स्थापित गरिने जानकारी दिए । ललितपुरको महालक्ष्मीसँगको सम्बन्ध विस्तारले उत्साहित बनाएको उनको भनाइ छ ।

 

कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका उपप्रमुख निर्मला थापा, नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुइँटेल, विज्ञापन बोर्डका सदस्य चेतन अधिकारी, नेपाल टेलिभिजन अनलाइनका सम्पादक शेखर अधिकारीलगायतको उपस्थिति थियो ।