close

पारिवारिक लगत विवरण संकलन गर्दै तानसेन

पारिवारिक लगत विवरण संकलन गर्दै तानसेन

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको तानसेन नगरपालिकाले सबै घरपरिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । पारिवारिक विवरणलाई ‘फेमिली कार्ड‘ का रूपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको छ । नगर प्रमुख अशोककुमार शाहीले प्रविधिमैत्री कार्यालयका रूपमा नगरपालिकालाई विकास गर्न तथ्यांक संकलन थालिएको जानकारी दिए ।


नगरपालिका मातहतका कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजनाअनुरूप तथ्यांक संकलन थालिएको नगरप्रमुख शाहीले बताए । नगरपालिकाभित्रका सम्पूर्ण कामका लागि प्रयोग हुने गरी फेमिली कार्डको सोच ल्याएको सूचना प्रविधि अधिकृत प्रकाश गैरेको भनाइ छ ।

 

सो कार्डमा व्यक्तिगत तथा पारिवारिक विवरण समावेश गरिएको गैरेले बताए । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी, घरजग्गा, आर्थिक, नगरपालिकाबाट प्रदान गरेका सेवा–सुविधा कार्डमा उल्लेख गरिएको छ ।


नगर सूचना व्यवस्थापन प्रणालीअन्तर्गत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले जानकारी दिए । फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आइडी नम्बर समावेश गरिनेछ । यसमार्फत नगरपालिकाले सहज रूपमा नागरिकको सूचना प्राप्त गरी कार्य सम्पादन छिटो र सरल हुने विश्वास लिइएको छ ।