close

मन्त्रालयले रोक्यो स्थानीय तहका कर्मचारीको सरुवा 

मन्त्रालयले रोक्यो स्थानीय तहका कर्मचारीको सरुवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई लक्षित गरी स्थानीय तहका कर्मचारीको सरुवा स्थगन गरेको छ ।मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि पुनः उपयुक्त समयमा अन्तरस्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो ।

 

संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलगायत कर्मचारीको सरुवा भने नरोकिएको उनले बताए । मन्त्रालयले जारी गरेको सूचनामा लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीलाई कामकाजमा खटाउनेसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।


यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीलाई कामकाजमा खटाउँदै आएको थियो । ०७६ मा संघीय लोकसेवा आयोगको परीक्षा पास गरी ९ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोकसेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोकसेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।

 

यसरी सिफारिस भएका कर्मचारीलाई पारिवारिक समस्या र अपायक परेकोलगायत कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिँदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीको अन्तरस्थानीय तहमा सरुवा गरिएको थियो ।


त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक २ दर्जन हाराहारी निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको थियो । स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तरस्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीले बताए ।