close

पाल्पामा रोकिएन बालुवा चोरी निकासी

पाल्पामा रोकिएन बालुवा चोरी निकासी

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीयको गुनासो छ ।

 

राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्ला महिना निस्दी खोलाबाट अवैध रूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ ।
 

स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैध रूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ ।

 

जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिटी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक साता अवधिका प्रहरीले तीन वटा ट्रयाक्टरलाई अवैध रूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो । रामपुर नगरपालिका वडा नम्बर १ छम्केस्थित निस्दी खोलाबाट अवैध रूपमा गिटी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

 

निस्दी गाउँपालिका वडा नम्बर १ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैध रूपमा थुपारी गिटी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नम्बको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रण लिएको थियो । दुवै ट्रयाक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्रयाक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । 

 

रामपुर नगरपालिका वडा नम्बर १० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैध रूपमा गिटी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । नम्बर नखुलेको सो ट्रयाक्टरका चालकलाई हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उनको भनाइ छ ।

 

अवैध रूपमा गिटी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेका छैनन् । कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीयको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि सरकारी संरचना निर्माणमा समेत जथाभावी रूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ ।