close

गोदावरीले कर्मचारी मागेको ६ महिनासम्मै निकालेन नतिजा

गोदावरीले कर्मचारी मागेको ६ महिनासम्मै निकालेन नतिजा

Trulli
ADVERTISEMENT

कैलाली/अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिनामा पनि आवेदकमध्येबाट कर्मचारी छनोट गर्न सकेको छैन । १४ साउनमा नगरपालिकाले ३५ कर्मचारी माग गरे पनि अहिलेसम्म आवेदकमध्येबाट आवश्यक कर्मचारी छनोट गर्न नसकेको हो । उक्त विज्ञापनका लागि नगरपालिकाले १५ दिन आवेदन दिने समय तोकेको थियो भने कर्मचारी छनोटका लागि सुरुमा सर्ट लिस्ट प्रकाशन गर्ने जनाएको थियो । उक्त पदका लागि १ हजार ३ सय ६९ जनाले आवेदन दिएका छन् । 

 

तर, ६ महिना बितिसक्दा पनि नगरपालिकाले सर्ट लिस्टसमेत निकाल्न सकेको छैन । नगरपालिकाले माग गरेका कर्मचारीको पहिलो करार अवधि पुस मसान्तसम्म कायम गरिएकामा सो अवधि सकिन लाग्दा पनि छनोट नगरिँदा आवेदक अन्योलमा परेका छन् ।

 

सहायक कम्प्युटर अपरेटर पदमा आवेदन दिएका गोदावरी नगरपालिका वडा नम्बर १ का लोग चयडाले ४ पटक नगरपालिका गए पनि छनोट प्रक्रिया सुरु नै नभएको भनेर फर्काएको बताए । ‘कार्यालयमा बुझ्न जाँदा केही दिनमा हुन्छ । सम्पर्कमा बस्न मात्रै भन्छन् । जति पटक गए पनि प्रक्रिया अगाडि नबढेको कर्मचारीले बताउने गरेका छन्,’ उनले भने, ‘कहिले कर्मचारी छनोट गरिने हो, जानकारी दिइँदैन ।’ 


नगरपालिकाले आवेदकमध्येबाट सुरुमा सर्ट लिस्ट निकाल्ने र त्यसपछि पदअनुसार प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता लिइने बताएको थियो । नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले कार्यालय प्रमुख नहुँदा कर्मचारी छनोट प्रक्रिया अगाडि बढ्न नसकेको बताए । ‘पुराना हाकिम जाने समय भएकाले उहाँले यसमा हात हाल्न चाहनुभएन’, उनले भने, ‘कर्मचारी नियुक्तिमा धेरै प्रक्रिया मिलाउन बाँकी थियो । अहिले नयाँ हाकिम आइसकेकाले कर्मचारी छनोटको काम अगाडि बढिसकेको छ ।’ 

 

अब कर्मचारी छनोट गरिएपछि करार अवधि थपिने उनको भनाइ छ । तत्कालीन समय कर्मचारी मागका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार खत्रीले विज्ञापनको सूचना प्रकाशित गरेका थिए । कर्मचारी छनोटका लागि तत्कालीन प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीकै अनुमतिमा विज्ञापन आह्वान गरिएको खत्रीले बताए ।

 

पछि कर्मचारी छनोटको अनुमति नपाउँदा काम अगाडि बढाउन नसकिएको उनको दाबी छ । केही दिनअघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका खेमराज विष्टले भने, ‘कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेकाले छिट्टै आवदकको सर्ट लिस्ट निकाल्छौँ ।’

 

आफू कार्यालय प्रमुख भएर आएपछि कर्मचारी छनोटलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनले बताए । नगरपालिकाले मागेका ३५ मध्ये ७ जना सहायक कम्प्युटर अपरेटरका लागि ३९८, कार्यालय सहयोगी ५ जनाका लागि ३१४, १ फार्मेसी सहायकका लागि १५, १ रिसेप्सनिस्टका लागि ८५, ५ ल्याब असिस्टेन्टका लागि १६८, ५ अहेबका लागि १९३ जना, ७ अनमीका लागि १५४, १ भ्याकुम लोडर सहचालकका लागि १३ र ३ स्वीपरका लागि २९ जनाले आवेदन दिएका थिए ।


नगरपालिकाले ती पदका लागि २ सय देखि ५ सय रुपैयाँसम्म आवेदन शुल्क तोकेको थियो । नगरपालिकाले छनोट गरेका कर्मचारीलाई मालाखेती अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, नगरपालिका कार्यालय र वडा कार्यालयमा खटाइने उल्लेख गरेको छ ।