close

१५ वर्षदेखि ओडारलाई बास बनाएका कुलालको रहस्यमय मृत्यु 

१५ वर्षदेखि ओडारलाई बास बनाएका कुलालको रहस्यमय मृत्यु 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ कुलालवाडास्थित ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको रहस्यमय मुत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको गए राति ओडारमै मृत्यु भएको हो । 


यतिबेला जुम्लाको तापक्रम माइनस ६ डिग्री छ । घरबारविहीन कुलाललाई गाँस जुटाउने समस्या भएपछि ३ दिनअघि मात्रै विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार ओडारमै बस्दै आएका मृतक कुलालको टाउकोमा चोट लागेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए । 

 

उनले भने, ‘अहिले कुलालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टमबाट पनि केही घटनाको विषयमा रिपोर्ट आउनेछ ।’ श्रीमती र एक छोरा भए पनि उनी १५ वर्षदेखि ओडारमा बस्दै आएका थिए । स्थानीय रविन कुलालले भने, ‘चेतेको मृत्यु रहस्मय देखियो । मदिरा सेवन गर्थे । टाउकोमा चोट लागेको भनिएको छ । मागी खाने मान्छेलाई कसले मारे होला ?’

 

अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार कुलाललाई ३ दिनअघि ६० किलो चामल, एउटा सिरक, डसना र दुई वटा कम्बल राहत उपलब्ध गराइएको थियो । उनले भने, ‘उनको मृत्यु भएपछि ओडारमा पुग्दा हामीले उपलब्ध गराएका सामान थिएनन् । राहत दिएको सामान कसले लग्यो, मृत्युको छानबिन हुनुपर्छ ।’