close

कर्णालीका हिमाली जिल्लामा हिमपातले जनजीवन कष्टकर

कर्णालीका हिमाली जिल्लामा हिमपातले जनजीवन कष्टकर

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेश माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालीकोटमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । जुम्लाका अग्ला भूभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ । लगातारको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो ।

 

लगातारको हिमपातले ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् भने कृषकले भने उत्पादन बढ्ने आस गरेका छन् । यो वर्ष जुम्लामा पहिलो पटक हिमपात भएको हो । हिउँदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपातलाई सामान्य मानिने गरेको छ ।

 

पछिल्लो समय जलवायु परिवर्तनका कारण विगतजस्तो बाक्लो हिउँ पर्ने गरेको छैन । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिनसमेत मुस्किल भएको स्थानीय बताउँछन् । हिमपातले यहाँको हवाई सेवादेखि स्थलगत यातायात सेवासमेत प्रभावित भएको छ । छोटो दूरीका यातायात फाट्टफुट्ट सञ्चालन भएका छन् । हिमपातसँगै बढेको अत्यधिक चिसोले कर्णालीको जनजीवन प्रभावित भएको छ ।

 


हिमपातकै बीच चन्दननाथ नगरपालिका, डिभिजन वन कार्यालय र प्रहरी प्रशासनको समन्वयमा बजारका चोकचोकमा आगो बाल्ने अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार खलंगा बजारको बसपार्क, कृष्ण मन्दिर, प्रशासन, एयरपोर्टलगायत ठाउँमा दाउरा बाँडिएको छ । ‘हिउँ पर्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले नागरिकलाई सूचित बनाएको छ’, उनले भनिन्, ‘हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तथा राहत उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखेका छौँ ।’