close

अनलाइन पत्रकार संघको साधारणसभा सम्पन्न

अनलाइन पत्रकार संघको साधारणसभा सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं– अनलाइन पत्रकार संघको ११ औँ साधारणसभा अध्यक्ष शिवप्रसाद सत्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।  कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । मिडियाको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । पत्रकारिता पेसाको शुद्धीकरणका लागि अनलाइन पत्रकार संघजस्ता विधागत संस्थाको महत्त्वपूर्ण भूमिका हुने उनको धारणा छ । 

 

अनलाइन सञ्चार माध्यमलाई पनि अन्य सञ्चार माध्यमसरह लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार प्रतिबद्ध उनले बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललगायत पत्रकारले शुभकामना दिए । 

 

अक्षय कोष स्थापना 

 

अनलाइन पत्रकार संघले ११औँ साधारणसभा अवसर पारेर ‘अनलाइन जर्नालिजम अवार्ड’ का लागि ५ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेको छ । 

 

कोष स्थापनाका लागि कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का पूर्वअध्यक्ष ई. विनोद ढकालले ५ लाख रुपैयाँ अनलाइन पत्रकार संघलाई हस्तान्तरण गरे । 

 

अनलाइन जर्नालिजम अवार्ड ढुंगानालाई 

 

अनलाइन पत्रकार संघले प्रत्येक २ वर्ष वर्षमा प्रदान गर्ने अनलाइन जर्नालिजम अवार्डबाट उकेरा डटकमका सम्पादक कृष्णप्रसाद ढुंगाना (केपी) सम्मानित भएका छन् । संघको ११औँ साधारण सभाको अवसरमा सो पुस्कार प्रदान गरिएको हो । सञ्चारमन्त्री कार्कीले ढुंगानालाई उक्त पुरस्कार प्रदान गरे । ढुंगानालाई नगद ५० हजारसहित सम्मान गरिएको हो । ढुंगाना अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष हुन् । 


पत्रकार कुवेर चालिसेको संयोजकत्वमा महासंघ अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, पूर्वसचिव रामप्रसाद दाहाल र अनलाइन पत्रकार संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारका लागि छनोट गरेको हो ।कार्यक्रममा पत्रकार चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्‍याएको योगदान र लेखेका समाचारको आधारमा ढुंगानालाई पुरस्कृत गरिएको बताए । उनले आगामी वर्षदेखि संघका सदस्यलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने जानकारी दिए । 

 

संस्थापकहरू सम्मानित 

 

११औँ साधारणसभा अवसरमा संघका ८ जना संस्थापकलाई सम्मानित गरिएको छ । संघले अनलाइन पत्रकारिताको सुरुआती दिनमै अनलाइन पत्रकारलाई संगठित गरी अनलाइन पत्रकारिताको विकास र सम्वद्र्धन तथा पेसागत क्षमता अभिवृद्धि एवं सुरक्षाका लागि अनलाइन पत्रकारलाई संगठित गरेर पु¥याएको योगदानस्वरुप सम्मान गरिएको हो । 

 

सम्मानित हुनेमा केपी ढुंगाना, रामप्रसाद दाहाल, सुदर्शन घिमिरे, प्रवेश सुवेदी, नरदेव पाण्डेय, बाबुराम अर्याल, सावित्री घिमिरे र धर्मराज अधिकारी रहेका छन् । 

 

यसैगरी संघले फ्रिडम फोरम, कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का पूर्वअध्यक्ष ई. विनोद ढकाल र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकाललाई पनि सम्मान गरेको छ । कोरोना महामारीको समय संघमा आबद्ध सम्पूर्ण सदस्यको कोरोना बिमा गरी सहयोग गरेकामा कदरस्वरुप सम्मान गरिएको हो । 

 

क्यान महासंघ पूर्वअध्यक्ष ई. ढकाललाई अनलाइन जर्नालिजम अवार्ड वितरणका लागि अक्षय कोष स्थापनाका लागि योगदान गरेबापत सम्मान गरिएको हो । यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाललाई संघले यो वर्ष प्रदान गर्ने अनलाइन जर्नालिजम अवार्ड तथा अन्य व्यवस्थापकीय कार्यका लागि आवश्यक रकममध्ये १ लाख प्रदान गरेकाले सम्मान गरिएको हो ।

 

कार्यक्रममा संघका सचिव डिल्लीप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द अधिकारीले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । 

 

संघको ११औँ साधारणसभाले डिल्लीप्रसाद सापकोटा (अर्थबजार डटकम) को नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको नवनिर्वाचित उपाध्यक्षमा गोविन्द अधिकारी (हाम्राकुरा डटकम), सचिवमा गोविन्द मरासिनी (काठमाडौं प्रेस), कोषाध्यक्षमा निर्दोष घोरासने (हाम्रो अर्थ डटकम) चयन भए । यस्तै, सदस्यमा प्रजु पन्त (उकेरा डटकम), अमृत पौडेल (नयाँपुस्ता डटकम) र रविराज बराल (मिडिया कुराकानी डटकम) रहेका छन् ।