close

नेपाल रेडक्रस सोसाइटीको पदाधिकारीलाई नियुक्ति पत्र 

नेपाल रेडक्रस सोसाइटीको पदाधिकारीलाई नियुक्ति पत्र 

Trulli
ADVERTISEMENT

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गरेकी छिन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यलाई मन्त्री रेग्मीले नियुक्ति पत्र प्रदान गरेकी हुन्  । 

 

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएकी छिन् । ‘तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुहोला’, मन्त्री रेग्मीले भनिन्, ‘नयाँ कार्य समिति चयन गर्न तपाईंहरु सफल हुनुहोस् ।’

 

यसअघि केपी ओली नेतृत्वले नियुक्त गरेका तदर्थ समितिले अधिवेशन गर्न सकेको थिएन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ समितिको चुनाव तीन महिनाभित्र गर्ने कार्यादेश दिएर तदर्थ समिति गठन गरेको मन्त्री रेग्मीले जानकारी दिइन् । ‘फेरि तीन महिना थप्नुपर्ने अवस्था नआओस्’, कार्यकाल सफलताको शुभकामना दिँदै उनले विधि, विधान मानेर प्रक्रियाअनुसार तीन महिनाभित्र अधिवेशन गराउन तदर्थ समितिलाई निर्देशन दिइन् । अघिल्लो सरकारले रेडक्रसलाई छिन्नभिन्न बनाउने काम गरेको बताउँदै मन्त्री रेग्मीले कानूनविपरीत काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलित बनेको उल्लेख गरिन् । 

 

उनले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न तदर्थ समितिलाई निर्देशन दिइन् । मन्त्री रेग्मीको निर्देशनपछि नियुक्तिपत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको छ । मन्त्री रेग्मीको निर्देशनपछि नै तदर्थ समितिका नवनियुक्त अध्यक्ष सुदर्शनप्रसाद नेपालले कर्मचारीका जायज माग सम्बोधन गर्न वार्ता समिति नै बनाउने प्रतिबद्धता जनाएको मन्त्री रेग्मीको निजी सचिवालयले जानकारी दिएको छ ।