close

गलकोट महोत्सवमा हेलिकोप्टर आकर्षण

गलकोट महोत्सवमा हेलिकोप्टर आकर्षण

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव १६ पुस ०७८ देखि जारी छ । महोत्सवमा हेलिकोप्टरमार्फत दृश्यावलोकन गर्न पाइने भएपछि अवलोकनकर्ताको भीड थामिनसक्नु भएको छ । २६ पुससम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ ।

 

 

यसपालि महोत्सव अवसरमा हेलिकोप्टरमार्फत विशेष अफरसहित पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गर्न पाइने गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समिति अध्यक्ष रुपक पाण्डेले जानकारी दिए । महोत्सवलाई थप आकर्षक बनाउन र हेलिकोप्टरमार्फत महोत्सव स्थल मजुवाफाँटदेखि गलकोटको आकाश, पर्यटकीय गन्तव्य घुम्टे र ढोरपाटनसम्मको दृश्यावलोकन गर्न सकिने अध्यक्ष पाण्डेले बताए ।

 


हेलिकोप्टरमार्फत दृश्यावलोकन गर्न चाहनेलाई टिकट बुकिङ खुला गरिएको छ । महोत्सवमा आउने दर्शकका लागि विभिन्न प्याकेज तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक हरि खत्रीले जानकारी दिए । महोत्सव अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टरमार्फत बागलुङ क्षेत्र नम्बर २ का पर्यटकीय क्षेत्रको अवलोकनसँगै ढोरपाटन सिकार आरक्षको समेत दृश्यावलोकन गर्न सकिनेछ ।

 


न्यूनतम १० देखि १५ मिनेटसम्म गलकोट क्षेत्रको दृश्यावलोकन गर्न प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लाग्नेछ । हेलिकोप्टरमार्फत गलकोट घुम्न पाइनुका साथै घुम्टे शिरमा अवस्थित शिद्धभैरव मन्दिरको दृश्यावलोकनसहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्य अवलोकनका लागि १५ मिनेट समयको १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

 

 

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको हेलिकोप्टरमार्फत अवलोकन गर्न २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको महोत्सवका कार्यक्रम संयोजक हुम थापाले जानकारी दिए ।

 

 

हेलिकोप्टर १९ पुसदेखि उडाउन थालिएको छ । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटनसम्मको आकाशमा कैलाश हेलिकोप्टरले उडान भर्ने महोत्सव आयोजक समिति उपाध्यक्ष मोहन केसीले बताए । 

 

 

गलकोट नगरमा पर्यटन प्रवद्र्धन गर्न आयोजना महोत्सवमा मुख्य आकर्षणको रूपमा रहेको हेलिकोप्टरमार्फत दृश्यावलोकनका निम्ति अनलाइन र टेलिफोनमार्फत टिकट बुकिङ गर्न सकिनेछ ।