close

२२ सहरको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन

२२ सहरको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन

Trulli
ADVERTISEMENT

काठमाडौं– खानी तथा भूगर्भ विभागले देशभरका २२ सहरको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएका सहरको भू–बनोटको अवस्था बुझ्न र उक्त स्थानमा सहर बस्न योग्य रहे÷नरहेको यकिन गर्न प्रत्येक वर्ष एक सहरको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ ।

 


विभागले हालसम्म काठमाडौं, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौंडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा र नारायणगढको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । चालू आर्थिक वर्षमा बर्दियाको गुलरिया बजार क्षेत्रमा भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन भइरहेको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । 

 

विभागले ०५२ देखि प्रत्येक वर्ष एक सहरको भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको उनले बताए । ‘सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ भन्नेबारे हामीले भू–इन्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ,’ महानिर्देशक घिमिरेले भने ।

 

विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका छन् । विभागले सहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङ साइट, कुन भागमा अन्डरग्राउन्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारे अध्ययन गर्नेछ । यस्तै, कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन हुने गरेको छ । उक्त अध्ययनले सहरी विकासमा सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।