close

वालिङले सञ्चालनमा ल्यायो दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट

वालिङले सञ्चालनमा ल्यायो दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

 

घर–घरमा रहेका सेफ्टी ट्यांकी भरिएसँगै खुला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुन थालेपछि उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

 

‘घरमा रहेका सेफ्टी ट्यांकी दिसाजन्य लेदो भण्डारण गर्ने ट्यांकी मात्रै हुन् । ती भरिएपछि व्यवस्थापनमा समस्या थियो’, उनले भने, ‘अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ ।’

 

नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोस्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्नेछ ।

 

नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्लान्ट सञ्चालनमा ल्याएको हो ।

 

‘प्लान्टबाट आधुनिक कम्पोस्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौँ’, नगरप्रमुख खाँणले भने, ‘सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका स्तरमा नेपालकै पहिलो हो ।’

 

दिसापिसाबको व्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेको वालिङ नगरपालिकाका इन्जिनियर दीपेन्द्र मल्लले बताए ।

 

‘घर–घरमा निर्माण भएका सेफ्टी ट्यांकी भरिएपछि विसर्जनका लागि समस्या थियो’, इन्जिनियर मल्लले भने, ‘नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी व्यवसायीबाटभन्दा सस्तो शुल्कमा व्यवस्थापन गर्न थालिएको छ ।’

 

नगरपालिकालाई साढे ६ हजार रुपैयाँ शुल्क तिरेपछि ट्यांकी खाली गरिदिने गरेको इन्जिनियर मल्लको भनाइ छ । घर–घरमा निर्माण भएका सेफ्टी ट्यांकी खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जंगलमा ट्यांकरमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इन्जिनियर मल्ल बताउँछन् ।


घर–घरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि व्यवस्थापनमा समस्या हुने गरेकामा नगरपालिकाले उचित व्यवस्थापन गर्ने भएपछि सहज भएको वडा नम्बर ८ कटौजेका शिवप्रसाद पाण्डेले बताए ।

 

‘निजी व्यवसायीबाट यसअघि ट्यांकी खाली गर्नुपर्दा महँगो र मनपरी दररेट थियो’, पाण्डेले भने, ‘एकलौटी व्यवसाय हुँदा महँगो पर्न गए पनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुनेछ ।’

 

नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा देशभरमै उत्कृष्ट काम गरेर पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघ–संस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउनेको संख्या बढेको छ ।