close

सडकमा फोहोर फ्याँक्नेलाई निगरानी गर्न रात्रि गस्तीमा हिँड्यो महानगर

सडकमा फोहोर फ्याँक्नेलाई निगरानी गर्न रात्रि गस्तीमा हिँड्यो महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौ महानगरले घरदैलो र होटल रेस्टुराँको फोहोर सडक किनारमा फाल्नेविरुद्ध कारबाही गर्न रात्रिकालीन अनुगमन थालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मैतीदेवीमा यसरी फोहोर राख्दै आएका र स्थानीयबीच कुटपिट भएपछि महानगरले रात्रिकालीन अनुगमन गरिरहेको जानकारी दिएको हो ।

 


महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लगानी बोर्डमार्फत काठमाडौं उपत्यकाको फोहोर निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने विषयको अध्ययन पनि भइरहेको छ । नेप बेस्ट कम्पनी र महानगरबीच फोहोर व्यवस्थापन गर्ने विषयको प्रारम्भिक विकास सम्झौता टुंगोमा लगाउने कार्य अघि बढिरहेको राईले जानकारी दिइन् ।

 

कीर्तिपुर नगरपालिकाबाहेक उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा फोहोरमैला व्यवस्थापन केन्द्र खारेज भएपछि फोहोर व्यवस्थापनको दायित्व महानगरमा आएको छ । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर सिसडोल ल्यान्ड फिल्ड साइटमा फोहोर व्यवस्थापन गर्दै आएको छ । काठमाडौं महानगरले दैनिक १ हजार टन फोहोर सिसडोलमा लैजाने गरेको छ । निजी क्षेत्रका २ सय कन्टेनर र महानगरको २० कन्टेनर फोहोरसहित सिसडोल पुग्ने गरेका छन् ।

 

प्रमुख राईका अनुसार सातामा ४ दिन रात्रिकालीन अनुगमन र अन्य दिन माइकिङ गरेर सार्वजनिक स्थलमा फोहोर नफाल्न चेतनामूूलक सन्देश प्रवाह गरिनेछ । महानगरका नगर रक्षक, जनपथ प्रहरी र फोहोरमैला व्यवस्थापनसँग सरोकार राख्ने स्थानीय युवा क्लब यसमा सहभागी हुँदै छन् ।

 

मैतीदेवीमा सोमबार बिहान फोहोर फाल्नेलाई कुटपिट भएपछि उग्र भएको समूहले फोहोरको डुंगुर सडकमै हुत्याएको थियो । प्रहरी प्रभाग मालीगाउँले कुटपिटको घटना प्रहरी कार्यालयमा नआएको जानकारी दिएको छ । स्थानीयका अनुसार क्यान्टिन भएका कलेज, छात्रावास र होटलबाट नियतवश स्थानीयको दैलोमा फोहोरको डुंगुर नै थुपार्ने र यो खाले फोहोर व्यवस्थापन गर्ने निकायसमेतले नलैजाने गरेकाले एक सातादेखि मैतीदेवी क्षेत्र फोहोरमय भएको थियो ।


फोहोर फाल्नेलाई कुटपिट भएको र भागदौडसमेत मच्चिएको एक स्थानीये बताए । यसरी फोहोर फाल्नेमाथि महानगरले जरिमाना गर्न सक्ने भए पनि सजाय प्रभावकारी नभएको जनगुनासो छ । प्रमुख राईका अनुसार यो आर्थिक वर्षको सुरुमै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जडित सीसीटीभीबाट पहिचान गरेर कारबाही गर्दा ५ लाख रुपैयाँ जरिमाना महानगरलाई राजस्व प्राप्त भएको छ ।