close

संघीयताबारे अध्ययन गर्न संसदीय समिति गठन माग

संघीयताबारे अध्ययन गर्न संसदीय समिति गठन माग

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीयताबारे अध्ययन गर्न संसदीय समिति गठनको मागसहित राष्ट्रिय सभामा सत्तारुढ दलले संकल्प प्रस्ताव पेस गरेका छन् ।  संघीयताबारे नागरिक स्तरबाट उठेका प्रश्न र गुनासा सम्बोधन तथा कार्यान्वयनका विभिन्न १५ बुँदासहित सत्ता पक्षका सांसदले राष्ट्रिय सभामा बुधबार संकल्प प्रस्ताव पेस गरेका हुन् ।

 

गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदले संयुक्त रूपमा संकल्प प्रस्ताव ल्याएका हुन् । संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदासमेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको उनीहरूको भनाइ छ । अपर्याप्त जनशक्तिका कारण प्रदेश र पालिकाले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको ठहर छ ।

 

संकल्प प्रस्तावमा अन्तरतह समन्वयकारी संस्था क्रियाशील गराउन, सरकारका तहबीचको कार्यक्षेत्रमा देखिएको दोहोरोपनाको अन्त्य, सःसर्त अनुदानका नाममा स–साना योजना तथा कार्यक्रम बाँडफाँट बन्द गराउन, प्रदेश र पालिकाले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम हुने संविधानको व्यवस्था कार्यान्वयन गराउनेसहित विभिन्न १५ बुँदामा निर्देशन दिन माग गरिएको छ ।

 

कांग्रेसका जितेन्द्रनारायण देव, माओवादीका रामनारायण बिडारी, नेकपा एसका शेरबहादुर कुँवर, जसपाकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाले प्रस्ताव पेस गरेका थिए । सत्तापक्षले प्रस्ताव गरेको संकल्पमा अन्तरतह समन्वयकारी संस्थाहरू क्रियाशील गराउन, सरकारका तहबीचको कार्यक्षेत्रमा देखिएको दोहोरोपनाको अन्त्य गराउन, सरकारका तहबीचको नीति निर्माण र कानुन तर्जुमाका बीचमा तादम्य कायम गराउन, २९ बुँदे संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजनाको पूर्ण कार्यान्वयन गर्न माग गरिएको छ । 


यस्तै, अधिकार र कार्यबोझका आधारमा मात्र संस्थागत संरचना निर्माण गराउन, ससर्त अनुदानका नाममा स–साना योजना तथा कार्यक्रम बाँडफाँट बन्द गराउन, सहभागितामूलक योजना तर्जुमा पद्धतिलाई कार्यान्वयन गराउन, प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम हुने संविधानको व्यवस्था कार्यान्वयन गराउन भनिएको छ । 

 


यसैगरी प्रदेश र स्थानीय तहमा देखिएको कर्मचारीको न्यूनता पूरा गर्न, प्रहरीलगायत प्रदेशमा समायोजन र हस्तान्तरण गर्न बाँकी संरचनाको व्यवस्थापन गराउन, स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा (सवारी साधनसहित) मा एकरूपता कायम गराउन, प्रदेशमा हुने मन्त्रालय र मन्त्रीको संख्यालाई चुस्त बनाउन संविधान संशोधनको गृहकार्य अगाडि बढाउने बुँदा संकल्प प्रस्तावमा राखिएको छ । 

 


कानुन तर्जुमामा तीव्रता दिन र यसको मस्यौदा निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता सुनिश्चित गर्न, संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सुदृ,ढ समन्वयात्मक र सहज बनाउन आवश्यक प्रबन्ध मिलाउन, सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गराउन संकल्प प्रस्तावमा भनिएको छ ।