close

देवघाटधामका अतिक्रमित संरचना भत्काइँदै

देवघाटधामका अतिक्रमित संरचना भत्काइँदै

Trulli
ADVERTISEMENT

नवलपुर– पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउन थालिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्ति संरक्षण गर्न अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।

 

देवघाट क्षेत्र विकास समिति अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताए । ‘हामीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘बिहीबार मात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुंगे पुलसम्मको सडक किनारका संरचना हटाउने काम सुरु गरिएको छ ।’

 

चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुंगे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको अधिकारीले बताए । सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि भत्काउन लागेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जानकारी दिए ।


‘समितिको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिको संरक्षणमा लागिपरेका छौँ’, घिमिरेले भने, ‘हाम्रो क्षेत्राधिकार पर्ने स्थानमा जहाँ जोसुकैले अतिक्रमण गरेको भए पनि त्यस्तो स्थानमा डोजर चलाएरै भए पनि सम्पत्तिको संरक्षण गर्छौं ।’

 

सडक साँघुरो हुँदा दुर्घटना बढ्ने तथा देवघाट मेलाका क्रममा बढी भीडभाड हुनेसमेत घिमिरेको भनाइ छ । नजिकिँदै गरेको देवघाट मेलालाई लक्षित गरेर अतिक्रमित संरचना हटाउन सुरु गरिएको समितिका सदस्य नवराज ढकालको भनाइ छ ।

 

देवघाटधाममा स्नानका लागि करिब ५ लाख तीर्थालु आउने अपेक्षा गरिएको जनाउँदै ढकालले सबैको व्यवस्थापनका लागि पनि सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक रहेको बताए । ३ वटै जिल्लातर्फ जुन स्थानमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको भए पनि ती स्थान खाली गराइने ढकालले जानकारी दिए ।