close

उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा 

उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको पुरानो सदरमुकाम उदययपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकीकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवद्र्धन गर्ने उद्देश्यले सेनाको रणशार्दुल गणले उदयपुरगढी किल्लामा शुक्रबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो । सेनाको आयोजनामा उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मदन भण्डारी लोकमार्गस्थित नरेटारबाट उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपालटार बजार हुँदै पदयात्रा सञ्चालन गरिएको हो ।

 

सांस्कृतिक झाँकीसहित मार्चपास पद यात्रामा सेनाको रणशार्दुल गण बोक्से ब्यारेक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ५ नम्बर गण रातमाटेको संयुक्त टोली रहेको थियो । नरेटारबाट मार्चपास सुरु गरेर उदयपुरगढी गाउँपालिकाकै वडा नम्बर ५ स्थित ऐतिहासिक उदयपुरगढी किल्ला क्षेत्रमा पदयात्रा सञ्चालन गरिएको थियो । उदयपुरगढी किल्लामा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुमाया राउतले संयुक्त रूपमा झन्डोत्तोलन गरे ।

 

पुरानो उदयपुरगढीमा झन्डोत्तोलनपछि पञ्चावती मन्दिर परिसरमा सेनाले उदयपुरगढी क्षेत्रमा सरसफाइ गरेको थियो ।    तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको टोलीले २६ कात्तिक २००७ मा उदयपुरगढी कब्जा गरेको इतिहासमा उल्लेख छ । उदयपुरगढी पालिकाका उपाध्यक्ष राउत, प्रमुख जिल्ला अधिकारी यादव, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी बल ५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदी, उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष टंकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्यत्रय संगीता विक, कुन्तीमाया मगर, गोमा खत्रीलगायत जनप्रतिनिधि, स्थानीयको बाक्लो उपस्थिति थियो ।

 


संयुक्त टोलीले नरेटारदेखि पुरानो उदयपुरगढीसम्म करिब १३ किलोमिटरको पदयात्रा गरेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको पालमा गठन गरिएको सेना कालो दौरासुरुवाल लगाई त्यतिबेलाका हतियारसहित साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी यादवले पुरानो उदयपुरगढी किल्लामा झन्डोत्तोलन गर्दै किल्ला तथा गढी संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएकामा प्रशंसा गरे ।

 

उदयपुरगढी गाउँपालिका उपाध्यक्ष राउतले ऐतिहासिक पहिचान बोकेको उदयपुरगढी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न पालिकाले सहयोग गरिरहेको जानकारी दिइन् । अघिल्लो साता रणशार्दुल गणले चौदण्डीगढी दरबार क्षेत्रमा पदयात्रासहित झन्डोत्तोलन गरेको गणका प्रमुख सेनानी अर्जुन बोहराले बताए ।