close

पनौतीमा बाह्र वर्षे मकर मेलाको तयारी

पनौतीमा बाह्र वर्षे मकर मेलाको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं–काभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएसँगै व्यवस्थापनलाई तीव्रता दिइएको छ । अब पनौती क्षेत्र भएर चल्ने टिपर एक महिनाका लागि बन्द गरिने भएको छ ।

 

पनौती नगरपालिकाको वडा नम्बर ७ ले सूचना जारी गर्दै माघाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न २६ पुसदेखि सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो ।

 

वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पनौती त्रिवेणीघाट क्षेत्रमा लाग्ने मकर मेला व्यवस्थापन व्यवस्थित गर्न अबको १ महिनासम्म टिपर चलाउन बन्द गर्ने निर्णय गरिएको बताए । टिपरसँगै सो क्षेत्रमा खानी उत्खनन् नगर्न तथा वडाबासीलाई घरपालुवा हाँस एवं पशुपक्षी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ ।

 

नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी (काभ्रे एकीकृत खानेपानीबाट आएको पानी) जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

 

मूल व्यवस्थापन समितिले २५ पुसभित्र भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने जनाएको थियो । नगरपालिकाको वडा नम्बर ६ र ७ को संगमस्थल पनौती त्रिवेणी घाटदेखि गोरखनाथ डाँडामा लाग्ने बाह्र वर्षे मकर मेलाको लागि आवश्यक पर्ने भौतिक संरचनासहित सरसफाइ, रङरोगन, प्रचारप्रसार, सवारी पार्किङ र सडकको वैकल्पिक व्यवस्थापनलगायत काम भइरहेको छ ।

 

‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ नाराका साथ आउँदो १ माघदेखि १ महिनासम्म मेला लाग्नेछ ।आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समिति संयोजकसमेत रहेका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताए ।

 

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसिटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ । 

 

मेला लक्षित गरी नगरभित्रका सबै मठमन्दिर, गुम्बा, देवल, सडक खण्ड, पर्यटकीयस्थल, सार्वजनिक स्थल मर्मतसम्भार र सरसफाइको कामलाई प्राथमिकतामा दिइएको छ । दर्शनार्थीको सजिलोका लागि विन्ध्यवासिनी बचत तथा ऋण सहकारीसँगको समन्वयमा बनेपादेखि पनौतीसम्मको सडक खण्डमा १५ विश्रामस्थल निर्माण गरिनेछ ।

 

आवश्यक भौतिक पूर्वाधारसहित अन्य विषयगत क्षेत्र तोक्ने गरी पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाइ, सांस्कृतिक, प्रचार–प्रसार, सजावट, सूचना तथा खोज उद्धार, स्वास्थ्य, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास, सुरक्षा व्यवस्था, स्नान, सडक बत्ती र खानेपानी व्यवस्थालगायत काम अगाडि बढिरहेको छ ।  

 

यसअघि ०६६ मा भएको मेलामा उल्लेख्य जनसहभागिता भएकाले यस पटक पनि सोही हाराहारी सहभागिता हुने अनुमान समितिको
छ ।